कतारका अमिर शेख नेपाल भ्रमणमा आउँदै

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, १६ : १४
कतारका अमिर शेख नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।

मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ । कतारको चिडियाखानामा राख्नका लागि सो हात्तीको बच्चा दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता बेदकुमार ढकालले यो दुई देश बिचको सम्झौताको कुरा भएको भन्दै यसको बारेमा आफूहरूलाई कुनै जानकारी नआएको बताए । मन्त्रीपरिषद्ले केही निर्णय गरेपछि यस विषयमा प्रक्रियाहरू अगाडि बढ्ने उनले बताए ।

यसअघि पनि नेपालले कतारले एक प्रकारको बाज उपहार दिने तयारी गरेको थियो । कतारका सरकारले स्वीकार गरे पनि नेपालमा मन्त्रालयहरुको बिचमा कुरा नमिल्दा त्यो उपहार दिएन ।

त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।