आजभोलि धेरैलाई फास्टफुड खाने बानी परिसकेको छ । त्यसैले किशोर–किशोरीहरू हरियो सागपात र दाल मन पराउँदैनन् । फास्टफुडले पेट भरिए पनि किशोरावस्थाका व्यक्तिको समग्र विकासका लागि आवश्यक पोषण यसमा उपलब्ध नहुन सक्छ ।
त्यसैले, किशोरावस्थाका व्यक्तिहरू फास्टफुडमा निर्भर रहँदा उनीहरूको शारीरिक वा मानसिक विकास प्रभावित हुन सक्छ । यसबाहेक किशोरावस्थाका दौरान तीव्र गतिमा विकास हुने शरीर, पढाइ र करिअरको प्रेसरले गर्दा भागदौडको अवस्थामा रहेको जीवनलाई व्यवस्थित गर्न पनि पोषणयुक्त आहारा जरुरी हुन्छ । किशोरावस्थाका व्यक्तिहरूको आहारामा समावेश हुनुपर्ने केही तत्वहरू यसप्रकार छन् ।
आयोडिनको पर्याप्त मात्रा
महिलाले गर्भावस्थामा ओयोडिनको पर्याप्त मात्रा लिइनन् भने उनका बच्चाहरूको मानसिक स्वास्थ्य कमजोर हुन्छ । त्यसैले गर्भवती, बच्चा र किशोर–किशोरीका लागि आयोडिनको सही मात्रा जरुरी छ । टमाटर, पालक, अन्डा, आलुलगायतका खाद्यान्नमा यसको सही मात्रा भेटिन्छ ।
बदाम, फ्याट र बिज
डाइटिसियन सिमरन सैनीका अनुसार टिनएजर्सको डाइट प्लानमा फ्याट जरुरी हुन्छ । उनका अनुसार हाम्रो मस्तिष्क एक फ्याटी अंग हो । यसैले मेवा, घिउ, बिज तथा ओलिभ, नरिवल वा तिलको तेललाई आफ्नो डाइट प्लानमा समावेश गर्नु उपयुक्त हुन्छ ।
कार्बोहाइड्रेट्स
केही अध्ययनका अनुसार बिहान नास्ता नलिने विद्यार्थी आफ्नो कक्षामा दिक्क भएर बसेको हुन्छ । यस्तो अवस्थाले इनर्जी लेभल घटाउँछ र दिमाग सुस्त बनाउन सक्छ । त्यसैले आफ्नो डाइटमा अनाज, फल, बिज आदि समावेश गर्नुहोस् । यसले ग्लुकोजका रूपमा दिमागको इन्धनको पहिलो स्रोतका रूपमा काम गर्छ ।
जिंक
नसा र ब्रेन सेल्सबीच सञ्चार सम्बन्ध कायम राख्नका लागि जिंक महŒवपूर्ण हुन्छ । शरीरमा यसको कमी भयो भने बौद्धिक क्षमतामा विपरीत असर पर्न सक्छ । किशोरावस्थामा दिमागको सबैभन्दा धेरै प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले किशोर–किशोरीको डाइटमा बदाम, लसुन, बिउ, तिल तथा अन्डालगायत समावेश गर्नुपर्ने हुन्छ ।
भिटामिन बी
शरीरको नर्भ सेल्सलाई दुरुस्त राख्न भिटामिन बी–९ र बी १२ को महत्वपूर्ण भूमिका हुन्छ । शरीरमा यसको कमी भयो भने सप्लिमेन्ट लिन आवश्यक हुन्छ । मांशाहारी खानामा प्रचुर मात्रामा यो उपलब्ध हुन्छ ।
आइरन
जब शरीरमा आइरनको कमी हुन्छ । तब पढाइमा मन लाग्दैन र थकानले सताउँछ । आइरनले दिमागको विकास गर्न र स्वस्थ्य राख्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसबाट डोपामाइनजस्तो महत्वपूर्ण हार्मोन रिलिज हुन्छ । डोपामाइनले दिमागलाई खुसी राख्ने काम गर्छ । आइरनका लागि किशोर–किशोरीहरूले आफ्नो डाइटमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । -नयाँ पत्रिकाबाट साभार
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०३ असोज २०७५, १० : १७
लेखकबाट थप