प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

मंगलबार, ०२ असोज २०७५, १९ : ४६
प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी आग्रह गर्नुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा उहाँहरुले प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गर्नुभएको हो ।

उहाँहरुले देशमा बढ्दै गएको बालबालिका, किशोरी र वृद्धालाई बलात्कार गरी हत्या गर्ने आपराधिक घटनालाई अनुसन्धान गरी कानूनी कारवाही हुनुपर्नेमा जोड दिनुभयो । अब प्रदेश सरकारले पनि त्यस्तो नराम्रा घटनालाई दोहोरिन नदिन प्रभावकारी ऐन कानून निमार्ण गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

आजै बसेको दोस्रो बैठकले सामाजिक विकासमन्त्री युवराज दुलालले प्रस्ताव टेबल गर्नुभएको प्रदेश स्वास्थ्य सेवासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । उहाँले प्रस्तुत गर्नुभएको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन विधेयक, २०७५ र प्रदेश खेलकूद विकास गर्नेसम्बन्धी विधेयक, २०७५ माथि आज सैद्धान्तिक छलफल शुरु गरिएको छ ।

छलफलमाथि उठेको प्रश्नको उत्तर दिनुहँुदै सामाजिक विकासमन्त्री दुलालले प्रदेशमा बहुआयमिक क्षमतायुक्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने क्रममा निष्पक्ष एवं पारदर्शीताका साथ सेवासुविधा र अवसर उपलब्ध गराउनेतर्फ सरकारको लक्ष्य रहेको बताउनुभयो ।

विशेष बैठकमा प्रदेशसभाका सदस्य रामकुमार अधिकारी, बिजुला बर्मा शर्मा, प्रदीपकुमार केसी कटुवाल, सुरेन्द्रराज गोसार्इं, सृजना सैँजु, लालकुमारी पुन, शोभा शाक्य, गणेशप्रसाद दुलाल, बसुन्धरा हुमागार्इं, गीता वाग्ले, लक्ष्मण लम्साल र रीना गुरुङले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको जानकारी गराउनुभयो । आज ११ः ३५ बजे शुरु भएको बैठक ४ बजेसम्म सञ्चालन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस