बीबीसी । यो वर्षकै शक्तिशाली टाइफुन म्याङ्कुटले फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा विध्वंस मच्चाउन शुरु गरेको छ ।
गए राति नै लुजोन द्वीपमा आँधीका कारण त्यो क्षेत्रमा विजुली आपूर्ति बन्द भएको छ ।
२०० किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढिरहेको शक्तिशाली टाइफुन म्याङ्कुटको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् ।
अधिकारीहरूले ३३० किलोमिटर व्यास भएको सो आँधीले कमजोर संरचनाहरूमा निकै ठूलो क्षति पुर्याउने चेतावनी दिएका छन् ।
पछिल्लो अवस्था
उनीहरूले आँधीका कारण ६ मिटरसम्म अग्लो छाल बन्न सक्ने र ठूलो वर्षा हुन सक्ने बताएका छन् ।
हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने कागायान, उत्तरी इसाबेला, अपायाओ र आब्रा प्रान्तहरूमा दोस्रो उच्च तहको सतर्कता घोषणा गरिएको छ ।
शक्तिशाली आँधी म्याङ्कुट फिलिपिन्सको उत्तरपूर्वी बगाओमा शनिवार विहान १ बजेर ४० मिनेटमा प्रवेश गरेको बताइन्छ।
स्थानीय भाषामा 'ओमपोङ' नाम दिइएको सो आँधी ३५ किलोमिटर प्रतिघन्टाको वेगमा उत्तर पश्चिमतर्फ यात्रा गरिरहेको छ ।
आगामी आइतवार दिउँसोसम्ममा हङ्कङ् पुग्ने बताइएको छ ।
तयारी
हङ्कङ्का अधिकारीहरूले आँधी नजिकिँदै जाँदा आँधी सम्भावित क्षेत्रका मानिसलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।
मौसमविद्हरूले हङ्कङ्को सिमानामा आउन लागेको म्याङ्कुट एक दशक यताकै शक्तिशाली हुन सक्ने बताएका छन् ।
आउँदो मंगलवारसम्म म्याङ्कुट आँधी केही शान्त हुने ठानिएको छ ।
दर्जनौँ प्रान्तहरूमा आँधीबारे चेतावनी दिइसकिएको छ ।
सामुद्रिक र हवाइ यात्राहरूमा रोक लगाइ सकिएको छ ।
विद्यालयहरू बन्द गरिएका छन् र विपद् व्यवस्थापनका लागि सेना तयार भएर बसेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३० भदौ २०७५, १२ : ५२
लेखकबाट थप