एकता अल्मल्याउन आफु जिल्ला आएको होईन : प्रचण्ड

मंगलबार, ११ पुस २०७४, १३ : ३८
एकता अल्मल्याउन आफु जिल्ला आएको होईन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई अबरोध पुग्ने गरी आफु जिल्लामा नबसेको बताएका छन । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज यहाँ आयोजना गरेको प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचित सांसदहरुको सम्मानमा  आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतालाई अबरोध पुग्ने गरी जिल्लामा आफु अलमलिएर नबसेको बताए ।

केहि सञ्चार माध्यमहरुमा जिल्लामा अलमल गरेर पार्टी एकतालाई प्राथमिकता नदिएको भन्ने समाचार प्रकाशित भएको भन्दै  उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट हुने काममा ढिलाई नभएको बताए । अध्यक्ष दाहालले भने “म एमाले अध्यक्ष केपि ओलिसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केहि मिडियाहरुले जिल्लामानै अलमल गरेको भन्दै समाचार आई रहेको छ । यसमा दुबिधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।” उनले जोड दिदै भने “विश्वस्थ रहनुहोस् म  एमाले अध्यक्ष केपी  ओलिसँगको सल्लाहामा तपाई दुई तीन दिन बसेर आउँदा ठिकै हुन्छ भनेरनै पूर्ब निर्धारित कार्यक्रम सक्नका लागि जिल्ला आएको हुँ ।” दुई तीन दिनसम्ममा निर्बाचन आयोगले सबै काम टुङ्गाउने भएकाले आफु जिल्ला आएको उहाँले स्पष्ट पारे ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्व विद्यालय र त्रिभुवन विश्व विद्यालयबीचको भौतिक सम्पत्तिका बिषयमा भएको बिबाद आफुले सल्टाउने प्रयास गर्दै आएको बताए । अझै त्यसले पूर्णता पाईनसकेको भन्दै पूर्णता पाउनेमा विश्वस्त रहन आग्रह गरे । हामीले धेरै गर्न बाँकी रहेको भन्दै उनले कछुवा गतिमा गरेर नहुने बताए । पूर्ब प्रधानमन्त्री समेत  भएका दाहालले भने“एउटा सेन्टरअफ एक्सिलेन्सको रुपमा यो विश्वविद्यालयलाई विकास गर्नु छ । यहाँ यसको बिस्तार र अनुसन्धानको क्षेत्रमा साँचै आर्थिक क्रान्ति ल्याउनका लागि न्यूक्लीयस जस्तो हुनु पर्ने हो । तर त्यो बनाउने कुरामा हामी असाध्यौ पछि छौ ।” विश्व विद्यालयलाई राम्रो बनाउने बिषयमा विश्व विद्यालयमानै बसेर छलफल गर्न सकिने भन्दै उनले त्यसका लागि तयारी गरेर बस्न आग्रह गरे ।  

अब देशमा बामपन्थीहरुको बलियो सरकार बन्ने भन्दै उनले कम्युनिष्टहरुको एउटा बलियो केन्द्र बन्ने बताए । सो अवसरमा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यमा निर्वाचित कृष्णभक्त पोख्रेलले विश्व विद्यालयलाई नमुना विश्व विद्यालय बनाउनु पर्ने बताएका थिए भने विश्वविद्यालयका उपकुलपति प्रा।डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस