पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशलाई सहासिक खेल प्याराग्लाइडिङको केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङतर्पm रजत पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्दै उहाँले पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको गन्तव्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले नेपालमा सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद (साग)मा पदक प्राप्त गर्न सफल खेलाडीलाई प्रदेश सरकारका तर्पmबाट उचित सम्मान गरिने बताउँदै प्याराग्लाइडिङ खेलका आठ वटै विधामा स्वर्ण पदक प्राप्तिका लागि आवश्यक तयारीमा जुट्न खेलाडीलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारको निर्णयअनुसार उक्त खेलमा रजत पदक विजेता खेलाडीलाई जनही रु एक लाख र सम्मानपत्र तथा प्रशिक्षक र व्यवस्थापकलाई जनही रु २५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी महिलातर्पm प्याराग्लाइडिङ खेलमा पोखराबाट सहभागि तीनजना खेलाडीलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलाडीका लागि आवासीय सुविधासहितको बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्न प्रदेश सरकार गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपक कोइराला, सामाजिक विकास मन्त्रालयका सचिव कुष्णमुरारी न्यौपाने, ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङ, प्याराग्लाइडिङ सङ्घका सचिव इन्द्र भण्डारी, प्याराग्लाइडिङ खेल क्याप्टेन बिमल अधिकारी, भूतपूर्व खेलाडी खड्गबहादुर रानाभाटलगायतले खेलकूद क्षेत्रको समग्र विकासमा तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।रासस
प्रतिक्रिया दिनुहोस