भरतपुर अस्पतालबाट नेम्स फिर्ता, सिटीइभिटीको कार्यक्रम शुरुवात

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०७५, २० : १३
भरतपुर अस्पतालबाट नेम्स फिर्ता, सिटीइभिटीको कार्यक्रम शुरुवात

चितवन । भरतपुर अस्पतालले नेम्सबाट सञ्चालन गर्दै आएको कार्यक्रम फिर्ता गराएर सिटीइभिटीको कार्यक्रम शुरुवात गरेको छ । गत बर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई दिइएको प्रविणता प्रमाणपत्र तह नर्सिङ कार्यक्रम भरतपुर अस्पतालले फिर्ता लिएको हो । 
सिटीइभिटीको सम्बन्धनमा चल्दै आएको नर्सिङ कार्यक्रम गत बर्ष तत्कालीन मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले अस्पताललाई बार्षिक करिब ४५ लाख रकम घाटा लाग्ने गरी नेम्सलाई दिएका थिए । यसको चौतर्फी विरोध भएको थियो । अस्पतालमा नै नेम्सको बिएन कार्यक्रम चल्दै आएको छ । 
प्रमाणपत्र तह नर्सिङ र ब्याचलर इन नर्सिङलाई एकै संस्थाबाट सञ्चालन गर्न र गुणस्तरीय शिक्षा हुन्छ भन्दैं नेम्सलाई दिइएको कार्यक्रमबाट अस्पतालले घाटा व्यहोरेको थियो । अहिले फेरी सिटीभिटीकै सम्वन्धनमा कार्यक्रम सञ्चालनको स्वीकृति लिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताउनु भयो । 
नेम्सको पहिलो ब्याचले अहिले अध्ययन गरिरहेको छ । नेम्ससँग कार्यक्रम चलाउँदा अस्पतालले विद्यार्थीबाट प्रति विद्यार्थी दुई लाख ४० हजार र प्रतिमहिना ३ हजार रुपैंया लिएको थियो । त्यसको ५० प्रतिशत रकम नेम्सलाई नै बुझाउनुपर्दथ्यो । त्यसो हुँदा बार्षिक ४५ लाख रकम नेम्सले लैजाने गरेको थियो । 
सिटिइभिटीको कार्यक्रम चलाउँदा नवीकरण वापत ३० हजार रुपैयाँ बाहेक अन्य रकम खर्च गर्नुपर्दैन । सिटीइभिटीको गत भदौं ३ गते बसेको परिषद्को बैंठकले भरतपुर अस्पताललाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने पुनः स्वीकृती दिएको हो । 
सिटिइभिटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भदौं २४ गते सूचना प्रकाशन गरी फर्म खुलाएको छ । अबदेखी विद्यार्थीहरुबाट मासिक ३ हजार रकम पनि नउठाइने मेसु डा. खड्काले जानकारी दिए । सिटिइभिटीले तोकेको ४ लाख ७५ हजार रकमको ३० प्रतिशत कम रकम लिएर विद्यार्थी भर्ना गरिने मेसु डा. खड्काले दाबी गर्नुभयो । यसो हुँदा अस्पताल र विद्यार्थी दुवैलाई फाइदा हुने उहाँको भनाई छ । 
अस्पताललाई बार्षिक लाखौं रकम घाटा लगाउने गरि गरिएको कामले व्ययभार थपिदैं गएको देखिन आएको भन्दैं अस्पतालका मेसु डा. खड्काले भन्नुभयो, ‘नेम्ससँगको समझदारीमा नै कार्यक्रम फिर्ता लिएर सिटिइभिटीसँग पुनः सञ्चालन स्वीकृति लिएका हौं ।’
 

प्रतिक्रिया दिनुहोस