भरतपुर महानगरका करिब सय वटा शैक्षिक संस्थामा सरसफाइ

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १७ : १३
भरतपुर महानगरका करिब सय वटा शैक्षिक संस्थामा सरसफाइ

चितवन । भरतपुर महानगरपालिकाको सप्ताहव्यापी सरसफाइ कार्यक्रम अन्तर्गत आज सोमबार शैक्षिक संस्थाहरुमा सरसफाइ गरिएको छ । 
भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख भूमिलाल सुवेदीले महानगरमा रहेका ७३ वटा सामुदायिक र २३ संस्थागत विद्यालयमा सरसफाइ गरिएको बताए । विद्यालय सरसफाइ कार्यक्रममा विद्यार्थी, अभिभावकको उल्लेख्य उपस्थित रहेको उनले जानकारी दिए ।  

महानगरलाई सफा बनाउने अभियान जारी : रेनु
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने अभियान जारी रहेको बताइन् ।  विश्व सरसफाइ दिवस मनाउने सन्दर्भमा महानगरमा विविध सरसफाइका कार्यक्रम भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘भरतपुरलाई देशकै सरसफाइमा नमुना बनाउनको लागि विश्व वातावरण दिवसको अवसरमा साताव्यापी सरसफाइको कार्यक्रम घोषणा गरेका छौँ । अहिले साताव्यापी अभियान जारी रहेको छ ।’ उनले सप्ताहव्यापी कार्यक्रममा मात्र नभई सबै नगरवासीलाई सधैँ सरसफाइमा जुट्न आग्रह गरिन् । 

‘भरतपुर महानगरपालिकाभित्रका वडा नं. ७, ११ र २१ वातावरणमैत्री घोषणा भइसकेका छन्’ प्रमुख दाहालले भनिन्, ‘बाँकी वडाहरु पनि वातावरणमैत्री बनाउँदै लैजानेछौँ ।’ उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोजिएको बताइन् । 

‘भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्नु छ, यसको लागि जलदेवी सामुदायिक वनमा प्रक्रिया अघि बढाइएको छ । स्थानीयबाट केही विरोध आइरहे पनि उनीहरुलाई कुरा बुझाएर भरतपुरको फोहोरको दीर्घकालीन समाधान जलदेवी सामुदायिकमै स्थायी व्यवस्थापन हुने गरी कामहरु अगाडि बढाउने छौँ’ मेयर रेनु दाहालको भनाइ थियो । 


भरतपुरलाई हराभरा, सुन्दर, सफा र स्वच्छ महानगर बनाउन छिटै कोरियन कम्पनीसँग सम्झौता गर्ने तयारी भइरहेको उनी बताउँछिन् । प्रमुख दाहालले भनिन्, ‘हामीले महानगरलाई जसरी पनि हराभरा, सुन्दर र सफा बनाउन खोजिरहेका छौँ, यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’ 

विश्वका १ सय ५० भन्दा बढी राष्ट्रमा एकैदिन हुन लागेको विश्व सरसफाइ दिवस नेपालमा पनि ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ मनाइएको छ । भदौ २४ देखि ३० गतेसम्म देशभर सरसफाइका सव्ताहव्यापी कार्यक्रम भइरहेका छन् । सोही कार्यक्रमलाई भरतपुर महानगरपालिकाले पनि भव्यताका साथ सरसफाइको कार्यक्रम गरिरहेको छ । 

सरसफाइ थप कार्यक्रम 
भदौ २६ गते– सार्वजनिक संस्था तथा पार्क सफाइ दिवस (सम्बन्धित वडामा रहेका स्थानमा सरसफाइ) 
भदौ २७ गते– धार्मिक स्थल सफाइ दिवस (सम्बन्धित वडामा रहेका स्थानमा सरसफाइ) 
भदौ २८ गते– नदीनाला तथा जलाशय सफाइ दिवस (महानगर स्तरीय नारायणी नदी सफाइ कार्यक्रम बिहान ७ देखि ९ बजेसम्म) 
भदौ २९ गते– सडक सफाइ दिवस (सम्बन्धित वडामा रहेका सडकमा सरसफाइ) 
भदौ ३० गते– वृहद सफाइ दिवस (महानगरका मुख्य राजमार्ग सरसफाइ कार्यक्रम पोखरा बसपार्कदेखि गोन्द्राङचोकसम्म । समय बिहान ७ देखि ९ बजेसम्म)
 

प्रतिक्रिया दिनुहोस