दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् ।
“आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताउनुभयो ।
उहाँले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताउनुभयो । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन ।
दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताउनु भयो । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ ।
दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ । विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन् ।
विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ ।
दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ ।
यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हँुदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।
सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो ।(रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ भदौ २०७५, ११ : १२
लेखकबाट थप