अर्नाले जन्मायो तीन पाडापाडी

आइतबार, २४ भदौ २०७५, २० : ४५
अर्नाले जन्मायो तीन पाडापाडी

चितवन । स्थानान्तरण गरी यहाँ ल्याइएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई संरक्षणको क्षेत्रमा अर्थपूर्णरुपमा हेरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी ती अर्ना राखिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार साउन ३१ गतेदेखि शनिबारसम्म तीनवटा अर्नाले पाडापाडी जन्माएका हुन् । अर्नाले एउटा पाडी र दुई वटा पाडा जन्माएका छन् । 

तिनीहरुको चौबीसै घण्टा निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले सुरक्षा र रेखदेख गरिरहेका छन् । पाडापाडीले आफ्नै आमाको दूध खाने भएकाले अन्य अतिरिक्त खाना दिइएको छैन । ती पाडापाडी स्वस्थ रहेको निकुञ्जको पूर्वी सेक्टर हेर्दै आएका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए । 

ठूला वन्यजन्तुको वंश संरक्षण गर्ने उद्देश्यले स्थानान्तरण गरी ती अर्ना ल्याइएका थिए । कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएकामा सदर चिडियाखानाका अर्ना ल्याएलगत्तै मरेका थिए । 

दुई वटा गत वर्षको बाढीले बगाएर मरेका थिए भने अर्को एउटा बाघले खाएको थियो । सो ठाउँमा सात पोथी र दुई भाले माउ रहेका छन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकाल अर्ना संरक्षणमा सफलता मिलेको बताउँछन् ।  ठूलो सङ्ख्या नभएसम्म बाहिर छोड्न नमिल्ने भएकाले थप अर्ना ल्याउनुपर्ने उनी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस