सभामुख महराद्वारा महावाणिज्य दूतावासको अवलोकन

रासस

शनिबार, २३ भदौ २०७५, ११ : ०७
सभामुख महराद्वारा महावाणिज्य दूतावासको अवलोकन

काठमाडौं । चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले आज बिहान ल्हासास्थित नेपाली महावाणिज्य दूतावास अवलोकन गर्नुभएको छ । 
दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले स्वागत गर्नुभएको थियो । सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न सुझाव दिनुभयो । 
उहाँले नेपालसँग सीमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिकरुपमा धेरै फाइदा लिन सकिने बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा महावाणिज्यदूत कार्कीले दूतावासको अवस्था, नेपाल–तिब्बत व्यापारको गति र सम्भावनाबारे जानकारी गराउनुभएको थियो । सभामुख महराले आइतबार ल्हासास्थित नेपाली महावाणिज्य दूतावास भवन शिलान्यास गर्ने कार्यक्रम छ । 

सभामुख महरासंग चिनियाँ प्रतिनिधिमण्डलको भेट
चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । 
भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको बताउनुभएको थियो । 
“नेपाल–चीन सम्बन्धको इतिहास आफैँमा निकै पुरानो छ”, उहाँले भन्नुभयो, “त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको छ ।” 


सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारका तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । “नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग छ”, उहाँले भन्नुभयो,
“नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।” 
नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपालमा कुनै पनि खालका चीन विरोधी गतिविधि नहुने बताउनुभयो । 
नेपाल लामो राजनीतिक सङ्घर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ अघि बढिरहेको र सङ्घीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको छ भन्दै उहाँले सङ्घीय पद्धति र प्रक्रियाबारे लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्न चाहेको बताउनुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । 
भेटमा सचिव यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिका एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताउनुभयो । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजना कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिनुभयो । 
नेपालले लिएको ‘एक चीन नीति’को प्रशंसा गर्दै सचिव यिंग्जेले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस