सरकारलाई सच्चिन भन्दै नेपाली कांग्रेसले दियो यस्तो चेतावनी

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०७५, १७ : ४७
सरकारलाई सच्चिन भन्दै नेपाली कांग्रेसले दियो यस्तो चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रिलाकलापले प्रजातन्त्र र लोकतन्त्र खतरामा पर्दै गएको भन्दै नसच्चिए त्यस विरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएको छ ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यले संविधानले प्रधान गरेको अभिवक्ति स्वतन्त्रता विरुद्धका कदमले प्राप्त उपलब्ध गुम्ने खतरा बढाएको भन्दै लोकतन्त्रको संरक्षणका लागि कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले कालो झण्डा देखाएकै निहुँमा व्यक्ति नियन्त्रणमा लिने काम संविधानको बर्खिलाप भएको दाबी गर्नुभयो । उहाँले डेमोक्रेसीमाथि प्रहार भईरह्यो भने नेपाली कांग्रेस मुकदर्शक बनेर नबस्ने चेतावनी पनि दिनुभयो । उहाँले संविधानको मौलिक हक अन्र्तगतको धारा १६ र १७ ले प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाँच्न पाउने हक र वाक तथा विना हतियार शान्तिपुर्ण भेला हुने स्वतन्त्रताको हक प्रत्याभुति गरेको स्मरण गराउदै भन्नुभयो “यो पुस्तक कुनै कागजको खोस्टा होइन र यो चनाचटपटे बेच्ने कागज पनि होइन । यो नेपालको मुल कानुन हो नेपालको संविधान ।”

उहाँले संविधान विपरित महेन्द्रकालिन घटना हुन लागेको भन्दै गम्भीरताकासाथ लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले भन्नुभयो “राजा महेन्द्रको समयमा सहिद दुर्गा नन्दन झाले कालो झण्डा देखाएवापत फासीमा चढ्नुपरेको थियो । के आजको अवस्था राजा महेन्द्रको अवस्था हो ?” नेपालको संविधान देखाउँदै उहाँले भन्नुभयो “बर्दियाको गुलरियामा कालो झण्डा देखाउन मौलिक हकले कानुनी र संवैधानिक हक दिएको छ कि छैन ? हामी के यस्तै डेमोक्रेशिका लागि लडेका हौँ ?”

उहाँले महेन्द्रकालिन घटना हुन लाग्यो भने प्रजातन्त्रका लागि कांग्रेसले जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिनुभयो ।
उहाँले प्रहरी हिरासतमै मृत्यु भएका राममनोहर यादवको अहिले सम्म पोस्र्टमाटम नगरिएको र जाहेरी पनि दर्ता नभएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले यादवको मृत्यु बारे छानविन समिति गठन गरि सत्य तथ्य सार्वजनिक गर्न तथा पोस्र्टमाटम र जाहेरी दर्ता गर्न सरकार संग माग गर्नुभयो ।
उहाँले दैनिकजसो  हुने गरेका व्यक्ति हत्या, बलात्कार जस्ता घटनामा गम्भीर र संवेदनशील बन्दै शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस