भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाईवच्छ, हराभरा र सुन्दर बनाइने प्रतिबद्धता गर्नुभएको छ । विश्व सरसफाइ दिवस मनाउने सन्दर्भमा महानगरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई स्वच्छ, सफा बनाउने अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
सम्मेलनमा उहाँले भन्नुभयो, ‘भरतपुरलाई देशकै सरसफाइमा नमुना बनाउनको लागि विश्व वातावरण दिवसको अवसरमा साताव्यापी सरसफाइका कार्यक्रम घोषणा गरेका छौँ ।’ उहाँले सप्ताहव्यापी कार्यक्रममा सबै नगरवासीलाई सरसफाइमा जुट्न आग्रह गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाका ३ वटा वडा वातावरणमैत्री घोषणा भइसकेको छ । प्रमुख दाहालले भन्नुभयो, ‘वडा नं ७, ११, २१ वडा वातावरणमैत्री भइसकेका छन्, बाँकी वडाहरु पनि वातावरणमैत्री बनाउँदै लैजानेछौँ ।’ उहाँले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोजिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रमुख रेनु दाहालले भन्नुभयो, ‘भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्नुछ, यसको लागि जलदेवी सामुदायिक वनमा प्रक्रिया अघि बढाइएको छ । स्थानीयबाट केही विरोध आइरहे पनि उनीहरुलाई कुरा बुझाएर भरतपुरको फोहोरको दीर्घकालीन समाधान जलदेवी सामुदायिकमै स्थायी व्यवस्थापन हुने गरी कामहरु अगाडि बढाउने छौँ ।’
भरतपुर महानगरले वैकल्पिक उर्जाको काम पनि अगाडि बढाइरहेको उहाँले बताउनुभयो । ‘भरतपुरलाई हराभरा, सुन्दर, सफा र स्वच्छ महानगर बनाउन छिटै कोरियन कम्पनीसँग सम्झौता गर्ने तयारी पनि थालेका छौँ’ पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर मेडिकल सिटीको रुपमा विकास भइरहेको र अस्पतालमा भएको फोहोर व्यवस्थापन गर्न मन्त्रालयसँग सम्झौता गरेर अघि बढ्ने तयारी पनि भइरहेको छ ।
प्रमुख दाहालले भन्नुभयो, ‘महानगरलाई जसरी पनि हराभरा, सुन्दर र सफा बनाउन हामी खोजिरहेका छौँ, यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’
पत्रकार सम्मेलनमा भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले महानगरलाई हरियाली र सफा बनाउन महानगरले ल्याएका योजनबारे जानकारी गराउनुभएको थियो । उहाँले भरतपुरलाई सफा नगरीको रुपमा विकास गर्न सबैको सल्लाह, सुझावलाई ग्रहण गर्दै अगाडि बढ्ने बताउनुभयो । महानगरलाई कसरी सुन्दर बनाउन सकिन्छ भनेर यसअघि विभिन्न सफा सहरहरुको अवलोकन गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा महानगरका वातावरण शाखा प्रमुख विराट घिमिरेले भरतपुरलाई सफा सुन्दर बनाउन वातावरणका विज्ञहरुबाट सुझाव लिएको बताउनुभयो ।
यस्तो छ, सप्ताहव्यापी कार्यक्रम
विश्वका १५० भन्दा बढी राष्ट्रमा एकै दिन हुन लागेको विश्व सरसफाइ दिवस नेपालमा पनि ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ मनाइने भएको छ । भदौ २४ देखि ३० गतेसम्म देशभर सरसफाइका सव्ताहव्यापी कार्यक्रम हुनेछ । सोही कार्यक्रमलाई भरतपुर महानगरपालिकाले पनि भव्यताका साथ सरसफाइका कार्यक्रम गर्न लागेको छ ।
कहाँ कस्ता कार्यक्रम हुँदैछ ?
भदौ २४ गते– घर सफाइ दिवस (महानगरपालिका सम्पूर्ण घरपरिवार)
भदौ २५ गते– शैक्षिक संस्था सफाइ दिवस (महानगर रहेका स्थानमा सरसफाइ
भदौ २६ गते–सार्वजनिक संस्था तथा पार्क सफाइ दिवस (सम्बन्धित वडामा रहेका स्थानमा सरसफाइ)
भदौ २७ गते– धार्मिक स्थल सफाइ दिवस (सम्बन्धित वडामा रहेका स्थानमा सरसफाइ)
भदौ २८ गते– नदीनाला तथा जलाशय सफाइ दिवस (महानगर स्तरीय नारायणी नदी सफाइ कार्यक्रम बिहान ७ देखि ९ बजेसम्म)
भदौ २९ गते– सडक सफाइ दिवस (सम्बन्धित वडामा रहेका सडकमा सरसफाइ)
भदौ ३० गते–वृहत सफाइ दिवस (महानगरका मुख्य राजमार्ग सरसफाइ कार्यक्रम पोखरा बसपार्कदेखि गोन्द्राङचोकसम्म । समय बिहान ७ देखि ९ बजेसम्म)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०७५, १७ : ०५
लेखकबाट थप