उच्च मात्रामा फ्याट्टी एसिड भेटिएपछि व्यञ्जन ब्राण्डको तेल उद्योगमा प्रशासनको ताला

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १८ : २६
उच्च मात्रामा फ्याट्टी एसिड भेटिएपछि व्यञ्जन ब्राण्डको तेल उद्योगमा प्रशासनको ताला

वीरगञ्ज । उद्योग मन्त्रालयले खानेतेलको संकलित नमूनामा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा फ्याट्टी एसिड भेटिएको दाबी गर्दै व्यञ्जन ब्राण्डको तेल उद्योगमा ताला लगाएको छ । स्थानीय प्रशासनमार्फत् भदौ सात गते उद्योगमा ताला लगाइएको थियो ।
गत साउन २३ गते उद्योग मन्त्री मातृका यादवले उद्योगको स्थलगत निरीक्षणका क्रममा शंका लागेपछि खानेतेलको नमूना संकलन गर्न लगाएका थिए। वीरगञ्ज–२१, जगरनाथपुरमा रहेको खानेतेल उत्पादक प्रोबायोटेक इन्डस्ट्रिजको उत्पादनमा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा फ्याट्टी एसिड भेटिएको दाबीसहित मन्त्रालयले कारबाही अगाडि बढाएको हो।
पशु दाना उत्पादनमा ख्याति कमाएको निम्बस नेपाल समूह अन्तर्गतको प्रोबायोटेक इन्डस्ट्रिजले व्यञ्जन ब्रान्डमा सूर्यमूखी, भटमास र तोरी तेल उत्पादन गर्छ। उद्योग मन्त्री यादवले तेलको नमूनामा अत्यधिक मात्रामा एसिड देखिएकाले उद्योग शिल गरी थप अनुसन्धान गर्ने निर्णय गरिएको बताएका छन्। मन्त्री यादवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रोबायोटेकमा अनुगमन गर्दा तोरीको तेल विदेशबाट ल्याएर बिक्री गर्ने गरेको तथ्य फेला परेकाले सिल गरिएको बताएका छन् । उनले भने, ‘अनुगमन गर्दा तोरी भेटिएन, कर्मचारीलाई सोध्दा दोहोरो र अस्पष्ट कुरा आयो । अब हामी सो उद्योगका उत्पादन बजारबाट समेत समूना संकलन गरी आवश्यक जाँच गर्नेछौं । कम गुणस्तरको तेल उत्पादन गर्नेलाई कारवाही हुन्छ ।’
दुई वर्षअघि सञ्चालनमा आएको प्रोबायोटेक इन्डस्ट्रिज विश्व बैंकको साझेदारी रहेको उद्योग हो। उत्पादन थालेको छोटो समयमै यो उद्योगले नेपाल गुणस्तर प्रमाणसमेत पाएको थियो। करिब एक अर्ब रुपैयाँ लगानीमा सञ्चालित तेल उद्योगमा विश्व बैंकको इन्टरनेसनल फाइनान्सियल कर्पोरेसनमार्फत् करिब ३० प्रतिशत प्रत्यक्ष वैदशिक लगानी छ। मासिक २५ सय मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योगले घरेलु बजारमा पाँच प्रतिशत हिस्सा ओगटेको छ।
प्रोबायोटेकले गुणस्तर तथा नापतौल विभागको प्रतिवेदन माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएको छ । प्रयोगशाला परीक्षणमा तोरी र भटमासको खानेतेलको नमूनामा कैफियत देखिएको दाबी विभागको छ । तर, उद्योगले अझै उक्त प्रतिवेदन पाएको छैन ।

प्रतिक्रिया दिनुहोस