निलम्बित न्यायाधीश भुवन गिरीविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको संयुक्त इजलासमा

सफल खबर संवाददाता

बुधबार, ०३ माघ २०८०, ११ : २८
निलम्बित न्यायाधीश भुवन गिरीविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

अदालतमा मुद्दा र निवेदन विचाराधीन रहेकै अवस्थामा रावलले केही दिनअघि सर्वोच्च अदालत अगाडि आत्मदाह गर्ने भन्दै अदालत अगाडि पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस