काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।
प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमाा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ । निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित
राष्ट्रियसभा सदस्य निर्वाचन: सत्ता गठबन्धनका शीर्ष नेताले संयुक्त वक्तव्य जारी गर्ने
राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिँदै