रक्षामन्त्री पोखरेल र लेबनानका समकक्षी सर्राफबीच भेटवार्ता

मंगलबार, १९ भदौ २०७५, २० : ४८
रक्षामन्त्री पोखरेल र लेबनानका समकक्षी सर्राफबीच भेटवार्ता

काठमाडौँ । लेबनानको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र लेबनानका समकक्षी याकुव रियाद सर्राफबीच भेटवार्ता भएको छ । 

भेटमा नेपाल–लेबनानबीच रहँदै आएको पुरानो मैत्रीपूर्ण सम्बन्ध र लेबनानको शान्ति प्रक्रियामा नेपाली सेनाले पु¥याएको योगदानलगायत आपसी हितका विषयमा छलफल भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले लेबनानको शान्तिका लागि नेपालले सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै नेपालले लामो समयदेखि शान्ति, सद्भाव र स्थिरताको पक्षमा आफ्नो धारणा राख्दै आएको स्पष्ट पार्नुभयो । 

लामो अस्थिरतापछि शान्तितर्फ उन्मुख रहेको लेबनानको दिगो शान्तिको कामना गर्दै उहाँले निर्वाचनबाट नै शान्ति र राजनीतिक स्थायित्व रहने बताउनुभयो । 

उपप्रधानमन्त्री पोखरेलले बाह्र वर्षसम्मको आन्तरिक द्वन्द्वबाट नेपाल अहिले शान्तिकोे दिशामा अघि बढेको उल्लेख गर्दै लेबनानी आर्म फोर्सका अधिकारीलाई नेपालमा कमाण्ड तालीम, प्यारा बेसिक तालीमलगायत नेपाली सेनाले उपलब्ध गराउने विशिष्ट सैनिक तालीममा सरीक गराउन प्रस्ताव पनि गर्नुभयो । लेबनानका रक्षामन्त्री सर्राफलाई नेपाल भ्रमणको निम्तो पनि उहाँले दिनुभएको बताइएको छ । 

भेटमा लेबनानका रक्षामन्त्री सर्राफले सन् १९५८ देखि नै लेबनानको शान्तिसुरक्षामा योगदान दिँदै आएका नेपाली सेनाको प्रशंसा गर्दै शान्ति बहालीका क्रममा वीरगति प्राप्त नेपाली सेनाका जवान तथा अधिकृतका परिवारलाई लेबनानी नागरिकसरह सम्मान दिने बताउनुभयो । 

उहाँले ६२ वर्षको अन्तरालमा २९ जना नेपाली सेनाले लेबनान शान्तिका क्रममा वीरगति प्राप्त गरिसकेको बताउँदै वीरगति प्राप्त नेपाली सेनाका जवान तथा अधिकृतका परिवारलाई आफ्नो देशको नागरिक सरहको सेवासुविधासहितको सम्मानका लागि लेबनानी सरकारले प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएकोे जनाएको छ । 

शान्तिका लागि हालसम्म पाँच हजारभन्दा बढी नेपाली सेनाले विभिन्न स्थानमा पुगेर लेबनानी जनताको नजिक भएर काम गरेको उल्लेख गर्दै उहाँले लेबनानमा शान्ति बहालीका लागि अन्य मुलुकका सेनाले काम गरे पनि नेपाली सेनाप्रति लेबनानीको छुट्टै सम्मान रहेको बताउनुभयो । नेपाली सेनाले दुई पक्षीय जनस्तरको सम्बन्ध विस्तारमा ठूलो भूमिका निर्वाह गरेको पनि रक्षामन्त्री सर्राफले जानकारी दिनुभएको बताइएको छ । 

नेपाल र लेबनानबीच दुई पक्षीय कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि देखि नै नेपाली सेनाका टोली शान्ति स्थापनाका लागि त्यहाँ खटिएका थिए । नेपाल र लेबनानबीच सन् १९६३ मा कूटनीतिक सम्बन्ध विस्तार भएको थियो । कूटनीतिक सम्बन्ध विस्तार हुनुभन्दा ५ वर्षअघि देखि नै नेपाली सेना शान्ति स्थापनार्थ सो देशमा काम गरिरहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस