जनताले माओवादीको संस्कार संस्कृतिमा प्रश्न उठाए : प्रवक्ता सापकोटा

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १४ : १५
जनताले माओवादीको संस्कार संस्कृतिमा प्रश्न उठाए : प्रवक्ता सापकोटा

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताले माओवादी संस्कार र संस्कृतिमा उदासीन भएको विषयमा प्रश्न उठाएको बताएका छन् ।

पार्टीले गरेको रुपान्तरण अभियानको समीक्षाबारे मंगलवार पत्रकार सम्मेलन गर्दै सापकोटाले संस्कार र संस्कृतिमा पहिले सुझबुझ देखाउने माओवादीमा अहिले देखिएको उदासीनताले प्रश्न उठाएको बताएका हुन् ।

 

‘हामीलाई जनताको प्रश्न छ । संस्कार र संस्कृतिप्रति पहिले पार्टीमा सुझबुझ थियो । स्पष्ट थियो । तर अहिले उदासीन भएको हो कि भन्ने प्रश्न हाम्रो अगाडि राख्नुभएको छ’ सापकोटाले भने ।केही समय अगाडि प्रधानमन्त्रीकी नातिनीको विवाह निक्कै तामझामपूर्ण रुपमा गरेको विषयतर्फ इंगित गर्दै माओवादीले संस्कृतिको सवालमा जनताले आवाज उठाएको संकेत गरेको हो ।

अभियानका क्रममा जनताको कुरा थाहा पाइरहेको भन्दै उनले सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई नागरिकले रुचाएको पनि बताए ।‘हामीले अभियानको क्रममा जनताका कुरा थाहा पाइराखेका छौं । जनता सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन् । सरकारले यी विषयमा शुरू गरेको अभियान, सशक्त र गम्भीरतासाथ अगाडि बढाउनुपर्छ भन्ने छ मत राखेका छन्, उनले भने, ‘सकारको कामले जनतामा उत्साह बढाएको छ ।

तर एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले गम्भीर समीक्षा गर्नुभएको छ । नयाँ ढंगले अगाडि बढ्ने भन्दै आर्थिक विकास नै मुख्य हो भन्नुभएको छ । आर्थिक विकास, गरिबी नहटनेसम्म जनताको स्तर नबढेसम्म जनतालाई प्रभाव पार्दैन । यसैले आर्थिक क्षेत्रमा नयाँ ढंगले जानुपर्छ ।’

प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा नागरिकले अनुभूत गर्नेगरी काम गर्ने अठोट गरेको भन्दै त्यही दिशामा अगाडि बढ्नुपर्ने उनले बताए । आन्तरिक अर्थतन्त्रलाई बलियो बनाएर जानुपर्ने र यसको लागि प्रभावकारी नीति बनाएर कार्यान्वयनमा जानुपर्ने उनले बताए । पार्टीको पक्षमा पनि पछिल्लो समय लहर र विश्वास बढेको दाबी पनि सापकोटाले गरे ।

प्रतिक्रिया दिनुहोस