प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, ११ : ११
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धन दलहरूबिच प्रदेश भागबन्डामा कुनै सहमति नभएको बताएका छन् । उनले भागबन्डामा सहमति नभए पनि प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन कुनै समस्या नभएको तर्क गरे ।

‘प्रदेशको भागबन्डा कुनै टुङ्गो लागेको छैन । अन्तिममा सहमति होला । तथापि मुख्यमन्त्रीले विश्वासको मत लिन कुनै अप्ठ्यारो छैन । त्यो बालुवाटार सहमतिले सुनिश्चित गरेको छ’,शुक्रबार सापकोटाले भने ।

यस्तै एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याली बाहिर कार्यक्रम भएकाले गठबन्धनको बैठक बस्ने सम्भावना नभएको उनले बताए ।

फागुन २१ गते सत्ता समीकरण बदलिएपछि कांग्रेसले सङ्घदेखि प्रदेशसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घमा प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिइसकेका छन् । प्रदेशका मुख्यमन्त्रीहरूले २२/२३ गते भित्र विश्वासको मत लिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस