तीन बुँदे सहमतिसँगै काममा फर्किए चिकित्सकहरू

मंगलबार, १९ भदौ २०७५, १२ : ३९
तीन बुँदे सहमतिसँगै काममा फर्किए चिकित्सकहरू

काठमाडौं : सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ३ बुँदे सहमति भएसँगै मंगलबार बिहानैदेखि अस्पताल र स्वास्थ्य संस्थाहरूमा सेवा रुचारु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक संघबीच सोमबार राति सहमति भएको हो । तीन बुँदे सहमतिपछि संघले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

मुलुकी अपराध (संहिता)को दफा २३० को उपदफा ३ खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने उल्लेख छ ।

उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

संघ मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेको थियो ।

प्रतिक्रिया दिनुहोस