असारे भाकासँगै छुपुमा छुपु सडकमै बीउ

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १८ : ०७
असारे भाकासँगै छुपुमा छुपु सडकमै बीउ

चितवन । नारायणगढ बजारमा आज आइतबार अपरान्ह बेग्लै रौनक देखियो । कोही कोदोलो लिएका थिए । कोही घुम । कोही राधिका बनेका थिए त कोही कृष्ण । कतै पञ्चेबाजा घन्किरहेको थियो त कतै असारे दबदबे हिलोको भाका सुनिन्थ्यो ।
कोही धानको बीउ हातमा लिएर छुपुछुपु बीउ रोपिरहेका थिए । सडकमै कोदाली बोकेर बाउसे गर्ने र बीउ बोकेर रोपार बन्नेहरुको दृष्य हेर्न सडक छेउमा मानिसहरुको भीड थियो ।

के हो आज नारायणगढ बजारमा नै यस्तो ? सपिङ गर्न आएकी एक महिलाले सोधिन् । हातमा बीउ लिएर रोपार बनिरहेकी एक महिलाले भनिन्,– ‘आज कृष्णाष्टमी, रोपाइँ जात्रा !’
नारायणी कला मन्दिरले कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको रोपाइँ जात्रामा देखिएको दृश्यले सबैलाई लोभ्याएको थियो । दृष्य हर्नेहरु खुसीले दंग परेका थिए ।

नेवार समुदायको मौलिक परम्परालाई निरन्तरता दिँदै वर्सेनि नारायणगढमा रहेको नारायणी कला मन्दिरले रोपाइँ जात्रा गर्दै आइरहेको छ । पछिल्लो पुस्तालाई रोपाइँको महत्व दर्शाउन नारायणी कला मन्दिरले यस्तो जात्राको आयोजना गरेको हो ।

रोपाइँ जात्रामा बालबालिकादेखि वृद्धवृद्धाहरूसम्म फरकफरक पोसाकमा सहभागी थिए । जात्रा हेर्दा यस्तो लाग्थ्यो, उनीहरुले जात्रा निकालेका होइनन् साँच्चै नै रोपाइँ गरिरहेका छन् । सिमसिम पानी, हातमा धानको बीउ लिएका महिला, अनि हलो र कोदालो समाएका हली र बाउसे बनेका दृष्यले मन पुलकित पारेको थियो ।

यो जात्रामा कृष्णकै भेषमा केटाकेटी । अनि राधिकाको भेषमा महिलाहरुलाई पनि सहभागी गराइएको थियो । केही नेवार महिला तथा पुरुषहरु आफ्नै संस्कृति झल्कने गरी भेषभुषामा पनि देखिन्थे । ससाना बाबुनानीलाई कृष्ण र राधिका बनाइएको थियो । कृष्ण र राधिकालाई हेर्ने मानिसहरु दुरुस्तै भन्थे ।

रोपाइँ जात्रालाई नेवारहरुले पनि आफ्नै शैलीबाट मनाइएको पाइन्छ । काठमाडौं उपत्यकाबाट परापूर्वकालमा सुरू भएको यो जात्रा काठमाडांै उपत्यकाका अलवा बन्दीपुर, गोरखा, पाल्पालगायतका सहरहरुमा पनि निकालिन्छ । कतिपय मानिसहरु यो जात्रालाई कृषि पेशासँग पनि जोडेर हेर्ने गर्छन् ।

धानको रोपाइँ सकिएपछि खुसीयालीमा रोपाइँ जात्रा निकालिएको नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रधानले बताए । रोपाइँ सस्कृतिको बारेमा जानकारी दिन यस्तो जात्रा देखाएको उनले बताए ।
कला मन्दिरका उपाध्यक्ष उद्धव जोशीले नारायणी कला मन्दिरले २०५४ सालदेखि रोपाइँ जात्रा निकाल्दै आएको बताए । ‘सबै एक ठाउँमा जम्मा भएर जात्रा देखाउँ भन्ने उद्देश्यले रोपाइँ जात्रा गरिएको हो’ उनले भने, ‘अहिलेको पुस्तालाई रोपाइँ संस्कृतिबारे थाहा नै छैन, यस्तो जात्राले उनीहरुलाई रोपाइँबारे सिकाउँछ ।’

किसानले धान रोपाइँ सकेपछि त्यसैको प्रतिकात्मक चित्रण दिन यो जात्रा निकालिएको कलाकार ऋद्धिचरण श्रेष्ठले बताए । उनले बन्दीपुरबाट बसाइँ सरेर नारायणगढमा आउन थालेदेखि नै रोपाइँ जात्रा निकाल्न थालिएको
रोपाइँ जात्रालाई नेवारहरुले पनि आफ्नै शैलीबाट मनाइएको पाइन्छ । काठमाडौं उपत्यकाबाट परापूर्वकालमा सुरू भएको यो जात्रा काठमाडांै उपत्यकाका अलवा बन्दीपुर, गोरखा, पाल्पालगायतका सहरहरुमा पनि निकालिन्छ । कतिपय मानिसहरु यो जात्रालाई कृषि पेशासँग पनि जोडेर हेर्ने गर्छन् ।

गोरखा र पाल्पामा यसलाई हिले जात्राका रुपमा मनाउने गर्छन् । कृषिसँग सम्बन्ध जोडिएको यो जात्राले पछिल्लो समय सांस्कृतिक महत्व बन्दै छ ।
नारायणी कला मन्दिरबाट सुरू भएको यो जात्रा मिलनरोड, सहिदचोक, पुलचोक, पोखरा बसपार्कपछि पुनः कला मन्दिरमै फर्किएको थियो ।

रोपाइँ जात्रालाई कर्णालीमा चोपाइ
रोपाईं जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ ।
जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो खेतको रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ ।

रोपाईं जात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबै हातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहित दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् ।

चोपाइको आमन्त्रण गर्ने बेलामा असारे गीत गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्रायः रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस