अमेरिकी सेनाले पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रद्द

एजेन्सी

आइतबार, १७ भदौ २०७५, ०९ : १९
अमेरिकी सेनाले पाकिस्तानलाई दिने  ३० करोड डलर सहयोग रद्द

बीबीसी
अमेरिकी सेनाले पाकिस्तानलाई दिने ३० करोड डलरको मद्धत रद्द गरिएको जानकारी दिएको छ । पाकिस्तानले चरमपन्थी समूहविरुद्ध कारवाही गर्न विफल भएको भन्दै यस्तो निर्णय लिइएको अमेरिकी सेनाले बताएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नल कोनी फाकनरले अमेरिकी रक्षा विभागले अब आवश्यक प्राथमिकतामा उक्त रकमको प्रयोग गरिने जानकारी दिएका छन् ।

ट्रम्प प्रशासनले पाकिस्तानलाई छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो १७ वर्षदेखि हमला गर्दै आएका चरमपन्थीहरुलाई आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ । यद्यपी, पाकिस्तानले यी आरोपको खण्डन गर्दै आइरहेको छ ।

 अमेरिकी अधिकारीले पाकिस्तानले आफ्नो रवैया परिवर्तन गरे मात्र अमेरिकाको समर्थन पुनः हासिल गर्न सक्ने बताएको छ ।

यसअघि अमेरिकाले यसै वर्षको सुरुवातमा पाकिस्तानलाई ५० करोड डलरको आर्थिक मद्धत रद्द गरेको थियो । यद्यपी, रक्षा मन्त्रालयको यो निर्णय अहिले अमेरिकी संसदको स्विकृती पाउन बाँकी छ ।

ट्रम्पको झट्काः
त्यतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ वर्षको पहिलो दिन गरेको एक ट्वीटमा पाकिस्तानमाथि झुटो बोलेको र चरमपन्थीहरुलाई आश्रय दिएको आरोप लगाएका थिए । अमेरिकासँग अर्बौं डलरको मद्धत लिँदासमेत पाकिस्तानले चरमपन्थीहरुलाई पालिरहेको बताएका थिए ।   

उनले भनेका थिए, ‘अमेरिकाले पछिल्लो १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा बढीको मद्धत गर्यो तर पाकिस्तानले यसको बदलामा झुट र छलबाहेक केही पनि दिएन । उसले सोच्छ कि अमेरिकी नेता मुर्ख छन् । हामी अफगानिस्तानमा जुन आतंकवादीहरुको खोजी गरिरहेका छौं, पाकिस्तानले उनीहरुलाई नै आश्रय दिइरहेको छ । अब त्यस्तो हुनेछैन ।’

अमेरिकी रक्षामन्त्रालयका प्रवक्त लेफ्टिनेन्ट कोनी फकनरले भने, ‘दक्षिण एशियाका लागि अमेरिकाको सैन्य रणनीतिमा सहयोग नगरेका कारण पाकिस्तानलाई बाँकी भएको ३० करोड डलरको सहायता रद्द गरिएको छ ।’

अमेरिकाको यो कदमले पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको समस्या बढ्नेछ । इमरान खानले अघिल्लो महिनामात्रै पाकिस्तानको कमाल सम्हालेका छन् र आर्थिक मोर्चामा उनी जुध्नु परिरहेको छ ।

पाकिस्तानको विदेशी मुद्रा भण्डार लगातार घटिरहेको छ । सन् २०१७ मे मा पाकिस्तानको विदेशी मुद्रा भण्डार १६.४ अर्ब डलर थियो भने अब त्यो १० अर्ब डलर मुनी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस