डाक्टरहरुद्वारा आन्दोलनको घोषणा : विरामी भर्ना नलिने, अप्रेसन पनि नगर्ने चेतावनी

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १८ : १३
डाक्टरहरुद्वारा आन्दोलनको घोषणा :  विरामी भर्ना नलिने, अप्रेसन पनि नगर्ने  चेतावनी

काठमाडौं । चिकित्सक संघले आईतबार देशभरको स्वास्थ्य सेवा बन्द गर्ने तयारी जनाएको छ । सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता), ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सरकारले ऐन संशोधनमा चासो नदेखाएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले बताए । कार्यक्रम अनुसार माइतीघर मण्डलामा धर्ना दिने, कुनै पनि अस्पतालमा बिरामी भर्ना नलिने, बिरामीको शल्यक्रिया नगर्ने ल्याब टेस्ट नगर्नेलगायत साता व्यापी कार्यक्रम घोषणा गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पूर्व–घोषित आन्दोलनका कार्यक्रम अनुसार आन्दोनको पहिलो दिन देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो एप्रोन र काउन्सिल दर्ता प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने, आईतबार देशभरको ओपिडि सेवा बन्द गर्ने लगायतको कार्यक्रम रहेको छ ।

भदौ १ गते नै आन्दोलनको पूर्व तयारी गरेकालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विज्ञप्ती जारी गर्दै विवादित दफा तथा उपदफाहरुमा आवश्यकता अनुसार संशोधन गरी सम्बोधन गर्ने आश्वासन दिएको थियो । संघले भदौ १५ गतेसम्म सरकारलाई नयाँ ऐन सच्याउनको लागि समय दिएको थियो ।

मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको  २३० को उपलफा (४),दफा २३१,२३२,२३३ को उपदफा (४) को २३५ र २३८ को उपदफा (४) सच्याउनु पर्ने माग राख्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस