‘सिँचाइ गुरुयोजना’ आगामी ५ महिनाभित्र पूरा हुने

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १७ : ३८
‘सिँचाइ गुरुयोजना’ आगामी ५ महिनाभित्र पूरा हुने

काठमाडौं । देशमा उपलब्ध पानीको उचित व्यवस्थापन गर्दै, कृषि, खानेपानी तथा अन्य प्रयोजनमा सामरिक उपयोग गर्ने गरी तयार भइरहेको ‘सिँचाइ गुरुयोजना’ आगामी ५ महिनाभित्र पूरा हुने भएको छ । गुरुयोजजनाले सिँचाइमा आवश्यक पानी, स्रोत संरक्षण तथा बृद्धि र जलविद्युत आयोजना कसरी मिलाएर लैजाने भन्ने विषय स्पष्ट गर्नेछ । पहिलो पटक सन् १९९० मा तयार गरिएको गुरुयोजना स्तरोन्नती तथा केही विषय थप गरी गुरुयोजनालाई अन्तिम रूप दिइँदैछ ।

एसियाली विकास बैंक (एडिबी) को १ करोड १० लाख अमेरिकी डलर अनुदान सहयोगमा तयार भइरहेको गुरुयोजनामा नेपालसहित दुई देशका परामर्शदाताले काम गरिरहेका छन् । जर्मन कम्पनी लाह्मेयर, डेनमार्कको निराश र नेपालको टोटल म्यानेजमेन्ट सर्भिसले अबको करिब ३ महिनाभित्र अन्तिम मस्यौदा बुझाउने जलस्रोत तथा सिँचाइ विभागका प्रवत्ता कृष्ण बेल्बासेले बताए । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ । सन् २०१९ को जनवरीसम्म गुरुयोजना तयार हुने विभागले जानकारी दिएको छ ।

परामर्शदाताले सन् २०१३ देखि काम सुरु गरेका थिए । सुरुमा जलस्रोत नीति र नदी बेसिन गुरुयोजनापछि सिँचाइको गुरुयोजना तयार गर्ने योजना थियो । विभागका अनुसार जलस्रोत नीति तथा नदी बेसिन गुरुयोजना तयार हुन समय लाग्ने देखिएपछि सिँचाइ गुरुयोजना पनि एक पटक सुरु गरिएको हो । देश संघीय संरचनामा गएको र यसको कार्यान्वयन प्रक्रिया अघि बढिरहेकाले त्यही अनुसार गुरुयोजनाले प्रस्ट मार्गनिर्देश गर्ने विश्वास छ । सिँचाइ नीतिले अंगिकार गरेका विषय समेट्दै कृषि भूमिमा १२ महिना सिँचाइ पुर्याएर उत्पादकत्व बढाउने गुरुयोजनाको मुख्य उद्देश्य हो । यस्तै, बहुउद्देश्यीय तथा जलविद्युत आयोजना निर्माण हुँदा प्रयोग हुने पानी वा थपिने पानीको व्यवस्थापन गर्न पनि गुरुयोजनाले मद्दत गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस