गाउँमा छापामार युद्ध र सहरमा प्रविधिको युद्धलाई तिव्रता दिँदै विप्लव माओवादी

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०७५, १६ : २४
गाउँमा छापामार युद्ध र सहरमा प्रविधिको युद्धलाई तिव्रता दिँदै विप्लव माओवादी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीले हिंसात्मक युद्धको तयारीमा तिव्रता दिएको छ । जन सेना गठनदेखि तालिमको तयारी गरिरहेका बेला सरकारले आफ्ना प्रभावशाली मानिएका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ गरि विभिन्न मुद्दा लगाउने कोशिश गरेपछि विप्लव समुह अझ सशक्त तयारीमा उत्रिएको छ ।

भारतसँग सीमा जोडिएका ग्रामिण बस्ती तथा हिमाली जिल्लादेखि विप्लवको हिंसात्मक आन्दोलन, छापामार युद्धको शंखघोष हुनसक्ने एक नेताले बताए । केही दिनअघि मात्र विभिन्न रूपमा हिंसात्मक आन्दोलनमा रहेका पार्टी, समुह र संगठनलाई सरकारले वार्तामा बोलाउने निर्णय गरेको थियो । त्यसका लागि गृह मन्त्रालयलाई मन्त्रिपरिषद्ले अख्तियारी समेत दिइसकेको छ । तर विप्लव समुह सरकारसँग वार्ता नगरी छापामार युद्धको तयारीमा जुटेको छ ।

सहिद, वेपत्ता र जनयुद्धमा मारिएका परिवारको सपनालाई तुहाएको भन्दै विप्लवले युद्धको तयारी थालेका हुन् । त्यसका लागि नेकपाले दुई रणनीति अपनाएको स्रोतको दाबी छ । ग्रामिण भेगमा छापामार युद्ध र सहरमा प्रविधिको युद्धलाई तिव्रता दिने उसको योजना छ ।

नेपाल प्रहरीले विप्लव समुहको युद्धको तयारी रहेको सूचना प्रहरी प्रधान कार्यालयसम्म पुराएको छ । गृह मन्त्रालयमा पनि यहि व्रिफिङ गरिएको छ । भूमिगतरुपमा सैन्य दस्ता निर्माण गरिरहेको दावी गर्दै प्रहरीले त्यसका लागि नेकपाले सैन्य दस्ता पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको रिपोर्ट तयार पारेको छ । विप्लव समुहको बहिखाता फेला पारेको प्रहरीले भुमिगत केन्द्रहरूमा छापा मारेको थियो । बहिखाता नेपाल प्रहरीको महाराजगञ्जस्थित विधिबिज्ञान प्रयोगशालामा परिक्षण भईरहेको छ ।

गृहमन्त्रीको निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लब माओवादी लक्षित आक्रामक कारवाहीमा प्रहरी जुटेको छ । प्रहरीले विप्लवको समेत खोजी गरिरहेको छ । चुनावका बेलामा विभिन्न ठाउँमा विस्फोट गराउने, अन्य सामान्य समयमा पनि असामान्य हिसाबले हिंसा मच्चाउनेलगायतका मुद्दा विप्लव समुहलाई लगाइएको छ ।

बिप्लब माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यवसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन् । सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए ।

प्रहरीले प्रकाण्डसहित चारजना पोलिटब्युरो सदस्य, चारजना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरू कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन् ।  केन्द्रीय सदस्यहरू चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन् ।  मेची ब्युरो कमाण्डर सुमन लिम्बु र कोशी व्युरो कमाण्डर किरण राई पनि पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाईएको छ ।
आफ्ना विभिन्न ठाउँका नेता कार्यकर्ता पक्राउ गरी कारबाहीसहित मुद्दा लगाइएका कारण सरकारले बोलाएको वार्तामा नआउने  विप्लव समुहले जनाइसकेको छ ।

  

प्रतिक्रिया दिनुहोस