चितवन । तीज भन्नेबित्तिक्कै महिलाहरु फरुङ्ग हुने चाड । हिन्दू चेलीहरु माइत गएर मीठोमसिनो खाने, परिवारसँग भेटघाट गर्ने, नाचगान गर्ने चाड । हरितालिका पनि भनिन्छ तीजलाई । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
तीजको धार्मिक मान्यता
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
तीजको महत्व
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।
ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ ।
दैनिक क्रियाकलापलाई निरन्तरता दिन सन्तुलित पौष्टिक आहारको महत्वपूर्ण भूमिका हुन्छ । तीजको अघिल्लो दिन दर खाने चलन छ । दर स्वस्थ एवं पौष्टिक हुनु जरुरी छ । पहिले–पहिले तीजको दरका रुपमा ढकनी, काँक्राको अचार आदि खाने चलन थियो । अहिले त्यसमा परिवर्तन आएर पुलाउ, मासु, तरकारी, अचार, मिठाई आदि खाने चलन छ ।
चार दिनमा केके गरिन्छ ?
तीजको पहिलो दिन अर्थात् तीज इभलाई दर खाने दिनको रुपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरी चेलीहरु एकैठाउमा जम्मा भई ब्रत बस्न दरो हुनका लागि दर खान्छन् अर्थात् दरमा दह्रो खाना हुन्छ । यो दर खाने काम मध्यरातसम्म चालु रहन्छ । दोश्रो दिन तीजको मुख्य दिन हो यस दिनका कोही महिलाहरु निलाहार र कोही महिलाहरु फलाहार ब्रत बस्छन् । निलाहार भन्नाले पानी पनि नखाने र फलाहार भनेको पानी र फलफुल खाने भन्ने बुझिन्छ ।
तीजको चौथो दिन अर्थात् अन्तिम दिन रिषि पञ्चमी हो । यस दिन विहान महिलाहरु नजिकको धारा पधेरामा गएर अघिल्ले दिन नै जम्मा गरिएका विभिन्न किसिमका सामग्रीले ३६५ पटक स्नान गरि शुद्घ भै सप्तरिषि र अरुन्धतीको पुजा गर्छन् र त्यस्को अर्को दिन घरबाट माइती आएकी चेली विदावारी गरी आप्नो कर्म घर फर्किन्छन् ।
यस वर्षको तीज कसरी मनाउने ?
चितवन भरतपुर १० की कमला भट्टले यस वर्षको तीज माइत गएर नाचगान गरेर मनाउने बताएकी छन् । उनले भनिन्, ‘भगावान शिवजीको मन्दिरमा गएर पुजापाठ, नाचगान गर्ने, आफ्नो पति र परिवारको लागि प्रार्थना गर्ने, मीठोमसिनो खाने यही त हो नि तीज भनेको ।’
यस्तै भरतपुर ४ की भावना सापकोटाले पनि तीज माइत गएर रमाइलो गरी मनाउने बताइन् । उनले भनिन्, ‘नाचगान गरी मिठोमसिनो खाएर नै तीज मनाउने हो ।’
उनले यो पर्व अब एउटा देखासिखीको रुपमा भड्किलोरूपमा देखा पर्दै गएको समेत बताइन् । नेपाली हिन्दु नारीहरुको पवित्र चाडलाई हुनेखाने नेपाली महिलाहरुले आफ्नो गर गहना र साडी प्रदर्शन गर्ने पर्व बनाउन नहुने उनले बताइन् ।
नारायणगढ बजारकी कल्पना श्रेष्ठले वास्ताविक दर लोपोन्मुख भइरहेको बताइन् । ‘अब त तीजका कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा हुन थालेका छन्, दरको ठाउँमा अन्य खानेकुराले कव्जा जमाएको छ’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०७५, १२ : ०६
लेखकबाट थप