सर्तमा पानी उद्योग सञ्चालन गर्न दियौँ : चितवनका प्रजिअ जीतेन्द्र बस्नेत

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, २० : ०५
सर्तमा पानी उद्योग सञ्चालन गर्न दियौँ : चितवनका प्रजिअ जीतेन्द्र बस्नेत

भरतपुर । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सिलबन्दी गरिएका १० वटा पानी उद्योगमध्ये ७ वटालाई सर्त राखेर सञ्चालन गर्न दिइएको बताएका छन् । 
जिल्ला प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालयले आज गरेको वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा प्रजिअ बस्नेतले असोज २५ गतेभित्रमा अटोमेटिक प्लान्ट जडान गरिसक्ने सर्तमा पानी उद्योग चलाउन दिइएको बताए । उनले भने, ‘पानी उद्योग बन्द गर्दा मजदुरहरुको रोजगारी पनि खोसिने, पानी उद्योगको ब्राण्डमा असर पर्ने, जसरी पनि बजारमा छिमेकी जिल्लाबाट पानी आउने भएपछि केही सर्त राखेर सञ्चालन गर्न दिएका हौँ ।’
जिल्ला प्रशासन कार्यालय चितवनले ती उद्योगहरुलाई असोज २५ गतेभित्रमा अटोमेटिक प्लान्ट जडान गरिसक्न निर्देशन दिएको उनले बताए । ‘असोज २५ गतेसम्म पनि अटोमेटिक प्लान्ट जडान नगरे उनीहरुको नवीकरणसमेत रोकिन्छ’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । 
सिलबन्दी गरिएका १० वटा पानी उद्योग मध्ये ३ वटालाई प्रशासनले बन्द गरेको छ । ‘३ वटा पानी उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेका कारणले ती उद्योगलाई बन्द नै गरेको छौँ’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । अटोमेटिक प्लान्ट नल्याए पनि शुद्धता र गुणस्तरीयतालाई आधार मानेर ती उद्योगहरुलाई सञ्चालनको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । प्रशासनले दिएको निर्देशनको पालना नगरे उद्योग स्वतः बन्द गर्न सकिने निर्णय भएको प्रजिअ बस्नेतको भनाइ थियो । 
कार्यक्रममासूचना अधिकारी ईश्वर सिंखडाले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले राहदानी शाखा, नागरिकता शाखा, मुद्दा शाखा, प्रशासन शाखा, लेखा शाखा, घुम्ती शिविरलगायतको वस्तुगत विवरण प्रस्तुत गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस