ट्रम्पद्वारा विश्व व्यापार संगठनबाट बाहिरिने चेतावनी

एजेन्सी

शुक्रबार, १५ भदौ २०७५, १६ : २२
ट्रम्पद्वारा विश्व व्यापार संगठनबाट बाहिरिने चेतावनी

बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई विश्व व्यापार संगठन(डब्लूटीओ) बाट निकाल्ने चेतावनी दिएका छन् । डब्लूटिओले अमेरिकासँगको रबैया परिवर्तन गर्न असफल भएमा आफू बाहिरिने चेतावनी दिएका छन्  ।

‘यदि उनीहरु हामीले चाहे जसरी बदलिएनन् भने म डब्लूटीओबाट बाहिरिनेछु,’ ट्रम्पले ब्लूम्बर्ग न्यूजसँगको अन्तरवार्तामा भने ।

डब्लूटीओ विश्वव्यापी व्यापारको नियमान गर्न र व्यापारका क्रममा देशहरुबीच विवाद आएमा समाधान गर्नको लागि स्थापना भएको थियो ।

तर व्यापारमा संरक्षणवादी नीति अंगालेका ट्रम्पले यो संस्थाले आफ्नो देशमाथि अन्यायपूर्ण व्यवहार गरिएको आरोप लगाए ।

अन्तरवार्ताको क्रममा उनले डब्लूटीओ स्थापनाको लागि भएको सन् १९९४ को सम्झौता ‘हालसम्म गरिएको सबैभन्दा खराब सम्झौता’ भएको पनि बताए । तथापी अन्तरवार्ताको क्रममा उनले अमेरिकाले विगतमा केही फैसलाहरु जितेको स्वीकारे ।

अमेरिकालाई डब्लूटीओबाट निकाल्न सक्ने ट्रम्पको चेतावनीले उनले लिएको व्यापारिक नीति र डब्लूटीओले वकालत गर्ने खुल्ला व्यापार प्रणालीबीचको द्वन्द्वलाई प्रकाश पार्छ ।

यही समयमा वासिङ्टनले पछिल्लो केही समयदेखि डब्लूटीओको विवाद समाधान प्रणालीमा न्यायाधिस निर्वाचन रोकिराखेको छ । यस अनिर्णयले यो संस्थाको फैसला गर्ने सामथ्र्य कमजोर हुन सक्छ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लिघ्थीजरले पनि डब्लूटीओले अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

डब्लूटीओसँग ट्रम्पको विवाद खासमा के हो ?
अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति हुनु अघिदेखि असमान व्यापारबारे विरोध गरिरहेका थिए । अघिल्लो वर्ष फक्स न्यूजसँग बोल्दै ट्रम्पले भनेका थिए, ‘डब्लूटीओ हामी एउटा देशलाई छाडेर बाँकी सबैको फाइदाको लागि स्थापना गरिएको थियो...हामीले डब्लूटीओमा परेका लगभग सबै कानुनी मुद्धाहरु हा¥यौं ।’

डब्लूटीओसँग ट्रम्पको पछिल्लो मतभेद उनले विभिन्न देशहरुका सामग्रीहरुमाथि बढाइरहेको भन्सार कर पछि उत्पन्न भएको हो ।

त्यसमध्ये संसारको ध्यान चीनसँगको व्यापारिक द्वन्द्वतर्फ खिचिएको छ । विश्वका यी दुई शीर्ष अर्थतन्त्रबीचको व्यापारिक विवाद चर्किएमा विश्वव्यापी प्रभाव हुनेछ ।

ट्रम्पले तेस्रो चरणमा दुई सय अर्ब अमेरिकी डलरको चीनियाँ सामानमा कर लगाउने तयारी गर्दै छन् ।

चीनले पनि अमेरिकाले आफ्ना सामानहरु भन्सार कर बढाएको बदलामा अमेरिकाको सामानहरुमाथि कर बढाएको छ ।

जुलाईमा ट्रम्पले पहिलो चरणको भन्सार कर बृद्धि गरेलगत्तै चीनले डब्लूटीओमा उजुरी गरेको थियो ।

खुल्ला व्यापारको पक्षपोषण गर्ने डब्लूटीओले संरक्षणवादको विरोध गर्छ र विश्व व्यापारका नियमहरुमा भएका उल्लंघनबारे निर्णय गर्दै देशहरुबीचमा आएको विवादलाई समाधान गर्ने मञ्चको काम गर्छ ।

प्रतिक्रिया दिनुहोस