अमरेश भन्छन्– मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास भयो

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १६ : १०
अमरेश भन्छन्– मेरो गाडीलाई ठक्कर दिएर आक्रमणको प्रयास भयो

काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।मंगलवार बिहान साढे १० बजे सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा सर्लाहीको धनकौल गाउँपालिकास्थित सेखौना भन्ने स्थानमा केही व्यक्तिहरूले आक्रमणको प्रयास गरेको उनको भनाइ छ ।

 

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा मुन्ना भनिने सुधिर सिंहले बा १७ च ९६३२ नम्बरको गाडीबाट आफ्नो बा १५ च ११४३ नम्बरको स्कोर्पियोलाई ठक्कर दिएर गालीगलौज समेत गरेको आरोप उनले लगाए ।

 

'मेरो गाडीलाई ओभरटेक गर्दै ठक्कर दिएर आमाचकारी गालीगलौज र ज्यान लिने धम्की दिए,' सिंहले लोकान्तरसँग भने, 'म आफ्नो गाडीभित्रै बसिरहें । बरहथवाको डीएसपीलाई सुरक्षाका लागि फोन गर्दा नआएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेको थिएँ । '

 

 

तपाईंलाई तत्काल सुरक्षा हुन्छ भनेर गृहमन्त्रीले जवाफ दिएको केही समयपछि डीएसपी नेतृत्वको प्रहरी टोलीले आफूलाई रेस्क्यू गरेको उनले बताए ।आफूले पाएको पीएसओ तिहार मनाउने भन्दै काठमाडौंमा रहेका बेला आक्रमणको प्रयास भएको सिंहको आरोप छ । 

हेर्नुहोस्, अमरेशको स्टाटस :

तर, सुधिर सिंहले भने अमरेशको आरोप खण्डन गरेका छन् ।'अमरेश सिंह इमर्जेन्सी लाइट बालेर बीच सडकबाट गइरहेका थिए । साइड माग्दा पनि दिएनन् । त्यसपछि मैले ओभरटेक गरेको हो,' सुधिरले लोकान्तरसँग भने, 'न त मैले उनको गाडीलाई ठक्कर दिएको छु, न गालीगलौज नै, मैले केही गरेकै छैन । केही भएको पनि छैन ।'

 

अमरेश सिंहले स्कर्टिङ माग्नका लागि स्टन्ट गरेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस