सिक्किम अर्गानिक बन्यो,  चितवन किन हुन सक्दैन ?

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १६ : ३८
सिक्किम अर्गानिक बन्यो,  चितवन किन हुन सक्दैन ?


चितवन । सिक्किम अर्गानिक सहर बन्दा चितवन हुन नसक्ने किन ? कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रविन्द्र गौतमले प्रश्न गरे । उनले यसमा स्थानीय सरकारदेखि किसानसम्म सबै एक मत गरेर लागेमा सिक्किम जसरी चितवन पनि अर्गानिक सहर बन्ने बताए । उनले किसानले अर्गानिक मलको प्रयोग गर्नुपर्ने, माटोलाई जिवित राख्ने, स्थानीय सरकारले त्यहीअनुसार नीति नियम बनाउने हो भने सिक्किम जसरी चितवन पनि अर्गानिक जिल्ला बन्न सक्ने बताए । 
चितवनमा विषादीको मात्रा बढेको छ । यहाँको तरकारी तथा फलफूलमा ९० प्रतिशतभन्दा बढी विषादी भेटिएको एक तथ्यांकले देखाएको छ । चितवन विषादी प्रयोगमा देशभरमै पाँचौ स्थानमा पर्ने तथ्य पनि यसअघि सार्वजनिक भएको थियो । यो तथ्य सार्वजनिक भएसँगै चितवनमा विषादी न्यूनीकरणको लागि विभिन्न गतिविधिहरु सञ्चालन भइरहेका छन् । 
मातृभूमि कृषि सामग्री उद्योगले गरेको अत्याधिक रासायनिक मलको न्यूनीकरण साथै माटो, बाली र विषादीसम्बन्धी ४ दिने प्राविधिक तालिमको उद्घाटन कार्यक्रममा प्रमुख गौतमले भने, ‘अन्धाधुन्द रुपमा रासायनिक मल प्रयोग नगरौँ, डाक्टरको प्रिस्किप्सन लिएर औषधि किने झैँ, रासायनिक मल हाल्नै परे प्रिस्किप्सन लिएर मात्र हालौँ ।’
कार्यक्रममा विषादी निरीक्षक श्रीकृष्ण न्यौपानेले रासायनिक मल र प्राङ्गारिक मलको विषयमा किसानलाई बुझाउन जरुरी रहेको बताए । उनले भने, ‘माटोको पीएच ठीक हुनुपर्छ, माटोलाई जिवित राख्नुपर्छ । माटोको भौतिक, रासायनिक जैविक गुणलाई जोगाउन आवश्यक छ ।’
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ तरकारी जोन पार्वतीपुरका प्रमुख झलकप्रसाद कँडेलले छिटो प्रतिफल लिनको लागि किसानले खेतबारीमा विषादी छर्किरहेका बताए । उनका अनुसार किसानमा यो गलत परिपाटीको विकास भइरहेको छ । उनले भने, ‘प्रांगारिक, गोठेमल किसान हाल्न चाहँदैन, किनभने यी मलले उत्पादनमा तत्काल उव्जनी बढेको देखाउँदैन । त्यसैले किसान रासायनिक मल हालिरहेका छन् ।’
मातृभूमि कृषि सामग्री उद्योगका अध्यक्ष विष्णु चापागाईंले रासायनिक मलका कारणले चितवनको माटोमा अम्लीयपन बढ्दै गएको बताए । उनले भने, ‘माटो मरिसक्यो, माटोलाई बचाउनुपर्छ, माटो र मावन एकै हुन् । मान्छे बोल्छ, माटो बोल्दैन यति फरक हो ।’ 
कार्यक्रममा मेड नेपाल भरतपुरका प्रमुख मीनराज भण्डारीले अर्गानिक बाली उत्पादनको लागि पशुपालनको विकास गर्नुपर्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष टीकाराम भट्टराईले किसानले अब बायो मल, चुना मल र पिना मल छर्नुपर्ने बताए । मातृभूमिका अध्यक्ष चापागाईका अनुसार किसानलाई प्रागांरिक मलका फाइदा र माटोलाई जिवित राख्नलाई चार दिनको तालिम दिएको हो । आजबाट भरतपुरमा २० जना भन्दा बढी किसानले रासायनिक मलको न्यूनीकरणको लागि तालिम लिएका छन् ।

 


 

 


 

प्रतिक्रिया दिनुहोस