समस्या कसले बुझ्ने जनताका ? सरकार, कहिले खुल्छ नाका ?

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०७५, १५ : ५९
समस्या कसले बुझ्ने जनताका ? सरकार, कहिले खुल्छ  नाका ?

काठमाडौं । केरुङ–काठमाडौँ रेलमार्गको चर्चा सेलाएको छैन, तर भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ भन्ने कुरा कसैलाई थाहा छैन । तीन महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला चिनियाँ अधिकारीले कोदारी राजमार्गको निर्माण सम्पन्न गरेर राजमार्ग सञ्चालनमा ल्याउने र नाका समेत सञ्चालन गर्ने वचन दिएका थिए । राजमार्ग र नाका दुबै सञ्चालनमा आउन सकेका छैनन् ।
पछिल्लो पटक चीनले असाध्यै महत्वका साथ अगाडि बढाएको रसुवागढी नाकाको नै सम्पर्क बिन्दु टुटेपछि व्यापारी व्यवसायीको बेहाल भएको छ । रसुवागढी पुग्नै महाभारत भएको छ । रसुवागढी नाकामा मात्रै करिब दुई अर्ब बराबरको सामान बोकेका ४ सयभन्दा बढी ट्रक र कन्टेनर रोकिएका छन् । चीनबाट आयात भएको करोडौँ मूल्य बराबरको स्याउ तथा अन्य खाद्य पदार्थ समेत कुहिने अवस्थामा पुगेका छन् । नेपाललाई चीनसँग जोड्ने रेलमार्गको चर्चा चलिरहेको बेला भइरहेका सडकहरूलाई दुरुस्त बनाउनै डेढ वर्ष लाग्ने भएपछि चीनबाट सामान ल्याउने व्यवसायीमा चिन्तामा परेका छन् । गल्छी–रसुवागढी सडकलाई समेत दुरुस्त बनाउन अझै डेढ वर्ष लाग्ने अधिकारीहरूले बताएका छन् । 
रसुवाको दर्जन बढी स्थानमा पहिरोको जोखिम रहेको छ । राम्चे मात्रै उदाहरण रहने अब ।  वर्षौँदेखिको यो समस्या अन्त्य हुन अझै डेढ वर्ष लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पहिरो जाने क्षेत्रभन्दा फरक ठाँउबाट सडक बनाउनु पर्नेमा सरकारले त्यही क्षेत्रमा डोजर लगाएर छाडिदिएको छ । गल्छी रसुवागढी सडकको नयाँ निर्माणका लागि ४६ किलोमिटरलाई कालोपत्रेसहित दुई लेनको बनाउने काम भइरहेको सरकारी दाबी छ । नेपाली सेनाले ट्रयाक खोलिदिएको १८ किलोमिटरलाई पनि त्यही स्तरको बनाउन ठेक्का दिने प्रकृयामा रहेको र बाँकी १८ किलोमिटरको स्तर उन्नति गर्न काम चीनले नै गरिदिने सहमति भएको छ । तर कहिले काम सुरु हुन्छ भन्नेमा सरकारी अधिकारी नै बताउन सक्ने अवस्थामा छैनन् ।
वर्षाको कारण एक महिनाअघि रसुवाको घट्टेखोला पुल बाढीले बगायो । गत आइतबार रसुवा र नुवाकोट जोड्ने अर्को पुल समेत बगेको छ । रसुवागढीमा पहिरोले सडक बगाएको छ । यस्तै स्याफ्रुबेसीमा पनि सडकमा पहिरो खसेको छ । राम्चेको समस्या बर्षौंदेखिको भइहाल्यो । बाढीले बगाएको सडक मर्मतका लागि नेपाली सेनालाई आग्रह गरिएको छ । सेनाले विष्फोटक पदार्थ पड्काएर सडक बनाउने तयारी गरिएको छ । पुल मर्मतको काम कहिले सुरु हुने हो ? केही ठेगान छैन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव गोपाल सिग्देलले सडक मर्मत गर्न केही दिन लाग्ने बताएका छन्, तर केही दिन भनेको कति हो उनले प्रष्ट खुलाएनन् । 
सरकार रेलको चर्चा गरेर बसेको छ । मानौ आज रेल आयो, भोलि नै रेल आयो भने जसरी । तर भएको राजमार्ग मर्मतमा नै ध्यान दिन सकेको छैन । जसका कारण यात्रु र सवारी साधन नै विगत एक महिनादेखि अलपत्र हुन पुगेको छ । रेल ल्याउने कुरालाई पनि प्राथमिकतामा राखेर पहिले राजमार्ग मर्मतमा लागेदेखि जनस्तरबाट आक्रोश कम हुने थियो । तर त्यसतर्फ कुनै पनि ध्यान दिइएको छैन । 
सडकको जिम्मा लिएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई कसरी पैसा कमाउने भन्नेमात्रै चिन्ता छ । मन्त्री महासेठको कमाउधन्दाबारे प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी पुगेको भएपनि महासेठमाथि हालसम्म कुनै कारबाही भएको छैन । सडक विभागका पदाधिकारीलाई मन्त्री महासेठको चाकडी गर्दैमा फुर्सद छैन । उत्तर जोड्ने नाका बन्द भएको लामो समय हुँदा समेत सरकारी निकायले ध्यान नदिएको भन्दै जनआक्रोश उत्पन्न भएको छ । यस विषयमा प्रतिक्रिया लिन मन्त्री महासेठसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस