जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिहरुलाई सभामुख महराको आग्रह

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १९ : १०
जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिहरुलाई सभामुख महराको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । सोमबार रुकुम पूर्वको ‘भूमे गाउँपालिकाको वृत्तचित्र तथा चिनारी’ नामक पुस्तकको काठमाडौंमा विमोचन गर्दै सभामुख महराले रुकुम पूर्वको समृद्धिमा त्यहाँका जनप्रतिनिधिहरुसँग एउटै आवाजका साथ आफू पनि अघि बढ्ने आश्वासन दिनु भयो ।

उहाँले समृद्धिका लागि उत्पादन बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सभामुख महराले रुकम पूर्वको विगतको गुरिल्ला युद्ध, संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना औंल्याउनु भयो । तत्कालीन माओवादी जनयुद्धको सुरुवात भएको रुकुम जिल्लालाई गुरिल्ला युद्धको उद्गम स्थलको रुपमा लिने गरिन्छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले रुकुम पूर्वमा गुरिल्ला पर्यटन विकासका लागि सरकारले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सो पर्यटनका लागि सरकारले यस वर्ष पनि बजेटको व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई बहुवर्षीय योजनाको रुपमा अघि बढाउने घोषणा पनि गर्नु भयो ।
कार्यक्रममा रुकुम पूर्वका जनप्रतिनिधिहरुले रुकुम पूर्वलाई गुरिल्ला पर्यटनको रुपमा विकास गर्न सरकारसँग माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस