नागरिकलाई करको मारमा नपार्ने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिवद्धता

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०७५, १८ : ४३
नागरिकलाई करको मारमा नपार्ने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिवद्धता

कांग्रेसबाट निर्वाचित स्थानीय तहमा कम बजेट विनियोजन गरिएको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन ।
कांग्रेसले सोमबार केन्द्रीय कार्यालयमा ललिपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम गरिएको स्पष्टिकरण दिएका हुन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनतालाई मारमा पार्ने गरी कर नलिएको दावी गर्नुभयो । मेयर महर्जनले स्थानीय घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भएपनि सरकारले गत वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो गर्नु भयो । उहाँले कांग्रेसबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जनतालाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको दावी गर्नुभयो । उहाँले जनतालाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रित रहेको स्पष्ट पार्नु भयो ।

कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले जनतालाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नागरिकलाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पार्टी नेतृत्वलाई जानकारी गराउनु भयो ।

कांग्रेसबाट निर्वाचित रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार सञ्चालन ऐन अनुसार कर लिइएको दावी गर्नु भयो । उहाँले जनताले दिएको सुझावको आधारमा करसम्बन्धी कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रशिक्षण कार्यक्रममा काँग्रेस नेताहरुले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस