बिमिस्टेक तातो लाग्दै, कहाँकहाँ खटिएका छन् गुप्तचर ?

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १७ : ०४
बिमिस्टेक तातो लाग्दै, कहाँकहाँ खटिएका छन् गुप्तचर ?

काठमाडौँ । काठमाडौँमा बिमिस्टेकको तातो बढ्दै गइरहेको छ । भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनको तातो लाग्दै गएको हो । बिमिस्टेकमा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
बिमिस्टेक सम्मेलनलाई लक्षित गरी राजधानी आसपासका ठूलादेखि साना शहरहरुमा समेत गुप्तचर परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सम्भावित सुरक्षा चुनौतीको पूर्वमूल्याङ्कन गरी सूचना संकलनका लागि गुप्तचर निकाय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए ।
राजधानी आसपाका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत जिल्लाका सानादेखि ठूला बजारमा गुप्तचर परिचालन गरी सूचना संकलन भइरहेको गृह मन्त्रालयका अधिकारीले बताए ।
यस्तै भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती शहर र राजधानी छिर्ने सडक छेउका बजारमा पनि निगरानी बढाइएको गृह स्रोतको भनाइ छ । गुप्तचर निकाय अनुसन्धान विभागले चितवन, हेटौंडा, बुटवल लगायत शहरमा पनि निगरानी बढाएको छ । केही देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्ने कार्यक्रम समेत रहेकाले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । बिमिस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरामा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुने छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।
गृह मन्त्रालय स्रोतका अनुसार बिमिस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
बिमिस्टेक शिखर सम्मेलन हुने मितिभन्दा एक हप्ता अगाडिदेखि नेपाली सेनाले राजधानीमा गस्ती शुरू गरेको छ । सेनाले शिखर सम्मेलन हुने सोल्टी होटेल, रात्री भोज हुने होटेल हायात तथा पशुपतिनाथ क्षेत्रमा गस्ती गरिरहेको छ ।
यस्तै राजधानीका भीडभाड हुने मुख्य क्षेत्र र चोकमा पनि सेनाले गस्ती बढाएको छ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरको सूचनाअनुसार ‘खतरापूर्ण स्थान’को मूल्याङ्कन गरी सेनासहित अन्य सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका छन्  ।
बिमिस्टेक सम्मेलनलाई लक्षित गरी प्रहरीले राजधानी भित्रिने नाकामा विशेष निगरानी बढाएको छ । प्रहरीले राजधानीका होटेलमा पनि विशेष निगरानी बढाएको छ । राजधानीका तारेदेखि स–सना होटेलसम्मलाई प्रहरीले निगरानीमा राखेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस