छब्बीस वर्षदेखि भाडा नउठाएर दुनियाँको कल्याण गर्दै समाज कल्याण परिषद

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १६ : ०२
छब्बीस वर्षदेखि भाडा नउठाएर दुनियाँको कल्याण गर्दै समाज कल्याण परिषद


काठमाडौँ । समाज कल्याणको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको नियामक निकाय आफैं निरीह छ । सरकारी जग्गाको भोगाधिकार पाएको समाज कल्याण परिषद्ले २०४९ सालयता जग्गाको भाडा उठाउन सकेको छैन ।
परिषदलाई जग्गाको भोगाधिकारमात्रै छ । जग्गाधनी सरकार नै भएकाले परिषदले सबै अधिकार प्रयोग गर्न नपाएका कारण पनि भाडा उठ्न नसकेको हो । २६ वर्षदेखि विभिन्न ४७ वटा संघसंस्थाले परिषद्को जग्गा प्रयोग गरेका छन् । तर, सरकार सम्पत्ति प्रयोग गरेबापत तिर्नुपर्ने रकम भने तिरेका छैनन् ।
यसरी भाडा नतिर्नेमा संघ संस्था र निजी क्षेत्रमात्रै छैनन्, देशको प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि छ । लामो समय सत्तामा रहेको नेपाली कांग्रेसले परिषदलाई तिर्नुपर्ने १३ लाख रुपैयाँ अझै तिरेको छैन । कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र कांग्रेसले भृकुटीमण्डपमा विभिन्न समयमा गरेका कार्यक्रमको भाडा अझै तिरेका छैनन् । परिषदले विभिन्न संघसंस्थाबाट ४ करोड २५ लाख रुपैयाँभन्दा धेरै उठाउन बाँकी छ ।
परिषद्ले आफुले उठाउनु पर्ने रकम त उठाएको छैन । त्यसमाथि जग्गा भाडापनि सस्तोमा दिएको छ । भृकुटीमण्डप आसपासको जग्गाको प्रतिवर्ग फिट भाडा १ सय रुपैयाँ पर्छ । तर, परिषदले भने प्रतिवर्ग फिट १६ रुपैयाँ भाडा लिने गरेको छ । प्रतिवर्गफिट ८४ रुपैयाँ सस्तो भाडा लिने परिषदले, त्यही सस्तो भाडा पनि उठाउन सकेको छैन । विगतमा राजदरबार र रानीको चल्तीफिर्तीमा चल्ने समाज कल्याण परिषदमा पछिल्लो समय बढेको चरम राजनीतिकरणका कारण पनि सरकारी सम्पत्तिको दोहन भइरहेको छ ।
परिषद् स्रोतका अनुसार काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयले ८१ लाख, राष्ट्रिय अपांग महासंघको ४६ लाख, काठमाडौं नेत्रहीन संघको ३३ लाख, उपभोक्ता मञ्चको ३० लाख, पत्रकार महासंघ काठमाडौं शाखाको ११ लाख ८७ हजार भाडा तिर्न बाँकी रहेको छ । पसल तथा स्टल भाडामा लिएर रकम नतिरेका कतिपयको ठेगाना समेत पत्तो लाग्न सकेको छैन ।
परिषदले जग्गा भाडामा दिँदा र भाडा रकम उठाउँदा राजनीतिक दल र तिनका संगठनले हानथाप गर्छन् । राजीतिक कारणले नै परिषदले सस्तोमा जग्गा भाडामा दिनुपर्ने बाध्यता आएको बताएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका अनुसार परिषद्को भाडाको विषयमा चासो व्यक्त गरेको भएपनि हालसम्म कुनै पनि कारवाही हुन सकेको छैन । २६ वर्षदेखि भाडा नतिरी अटेर गरेर बस्नेलाई समेत परिषद्ले हटाउन सकेको छैन ।
काठमाडौंको केन्द्र भागमा रहेको भृकुटीमण्डपको करीब २ सय रोपनी जग्गामा फैलिएको परिषद्को सो जग्गा तथा घर टहराबाट महिनामा नै करोडांै आम्दानी हुनसक्छ । तर, सरकारी लापरवाहीका कारण केही व्यक्तिले मात्रै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । वि.सं. २०४९ सालयता परिषद्लाई ४ करोड २५ लाख भाडा बापतको रकम तिर्न बाँकी भएपनि भाडामा लिनेले अटेर गर्दै आएका छन् । मन्त्रालय समेत सो विषयमा जानकार भएपनि कारवाही गर्ने तहसम्म नपुग्नु दुःखद रहेको बताइन्छ ।
समाज कल्याण परिषदका कोषाध्यक्ष वीरबहादुर ठगुन्नाका अनुसार ४९ साल यता विभिन्न संघसंस्थाले प्रयोग गरेको जग्गाको भाडा उठाउन नसकिएको बताए ।  उनका अनुसार परिषद्ले भाडामा दिएको जग्गा नेपाल सरकारको नाममा छ । परिषद्लाई भोगाधिकार मात्रै दिइएको छ, तसर्थ कडा कानूनी कदमपनि चाल्न अप्ठ्यारो भएको उनको भनाइ छ । परिषदले भाडाको कुरा उठाएपछि संघसंस्थाले सरकार गुहार्ने र सरकारले मन्त्री परिषदबाट टुंगो लगाउँछौ भनेर टाल्दै आएको समेत उनले बताए ।
राजनीति र सत्ताको आडमा रहेर परिषदलाई तिर्नुपर्ने रकम नतिरिएको हो । जग्गाको भाडा उठाउने मामिलामा परिषद निरीह बनेको छ । लामो समय भाडा उठाउन नसक्दा परिषदले अदालत पनि गुहारेको थियो । अदातले भाडा तिर्न निर्देशन दिदाँ पनि परिषदले राजनीतिक कारणले भाडा उठाउन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस