काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लन्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गरे ।
कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगानीयोग्य पुँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको उनले बताउँदै ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको मन्त्री डा.महतले बताए । साथै उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे ।
जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उनले आग्रह गरेका छन् ।
सोही अवसरमा डा.महतले भूतपूर्व गोर्खाहरूको सम्बोधन गर्न बाँकी मागहरूको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई विशेष आग्रह समेत गरे ।
परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरिन् । उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
राजश्वको दृष्टिकोणबाट धेरै दबाबमा छौँ : मन्त्री महत