स्वस्थ हुन यी पाँच साधारण विधि अपनाउनुहोस्

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०७५, १२ : ५५
स्वस्थ हुन यी पाँच साधारण विधि अपनाउनुहोस्

चितवन । विभिन्न अध्ययनले खाने बानी, व्यायाम र तनाव व्यवस्थापनलाई स्वस्थ्य र दीर्घ जीवनको मुख्य साँचो मानेका छन् । हामीले थाहा नपाएको अथवा थाहा पाएर पनि बेवास्ता गरेको त्यही रहस्य सम्झाउने प्रयास यहाँ गरिएको छ ।

१. सकारात्मक सोचाइ र आभार : सकारात्मक सोचाइले मानिसको रोग प्रतिरोधी क्षमताका साथै पूरै शरीरलाई बलियो बनाउने अध्ययनहरुले देखाएका छन् । तपाईंले जे सोच्नुहुन्छ शरीरले त्यसैमा विश्वास गर्छ, तसर्थ सधैं सकारात्मक सोच राख्नुहोस् ।

२. भोजनमा सागसब्जी : काँचो, उसिनेको र हल्का तारेको सागसब्जी मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खानामा जति बढी सागसब्जी हुन्छ फोक्सो, मलाशय, स्तन, गर्भाशय, पेट, ब्लाडर, भोजन नली, प्यांक्रियाज र अण्डाशयको क्यान्सर हुने सम्भावना त्यति नै धेरै कम हुन्छ । त्यसमा पनि ब्रोकाउली, बन्दा, गाजर, गोलभेंडा, अंगुर र हरियो सागसब्जीमा हामीलाई फाइदा हुने तत्व अधिक मात्रामा पाइने अध्ययनहरुले देखाएका छन् ।

३. खाने समय र मात्रा : तपाईंले के, कहिले र कति खानुहुन्छ भन्ने कुरामा तपाईंको मेटाबोलिजम, इनर्जी, मनस्थिति र भावना बलियो हुन्छ भन्ने कुरा भर पर्छ । यसका लागि दिनमा पाँचपटक खाने बानी बसाल्नुस् । खाना पनि धेरै होइन ठिक्का खानुहोस् । यसले तौल ठिक राख्न पनि मद्दत गर्छ ।

४. दैनिक व्यायाम : दैनिक व्यायामले बुढ्यौली रोक्न मद्दत गर्छ । दैनिक व्यायामले आँखाको दृश्यशक्ति सुधार्नुका साथै रक्तचाप ठिक राख्छ । मांशपेसी बलियो बनाउँछ र कोलेस्ट्रोल घटाउँछ । यसले हड्डीको धनत्व पनि सुधार गर्छ । स्वस्थ्य भएर लामो समय बाँच्न चाहनुहुन्छ भने दैनिक रुपमा व्यायाम गर्नुस् । अध्ययनहरुले के देखाएका छन् भने १० मिनेट मात्रैको व्यायामले पनि निकै फरक पार्छ । अरुथोक केही गर्न नसके कोठाभित्रै गीत बजाएर नाचे पनि हुन्छ । व्यायामका लागि पार्कमा घुम्ने, डोरी खेल्ने जस्ता, ब्याडमिन्टन, भलिबल खेल्ने, हाइकिङ जाने, साइकल कुदाउने जस्ता दर्जनौं विकल्प छन् ।

५. मज्जाले निदाउनुस् : निद्रा लाग्दैन भने ध्यान, योगा जस्ता मनलाई तनावमुक्त बनाउने विधिहरु छन् । दूधसँग अनाज, जौको च्याख्ला, चेरी अथवा क्यामोमाइल चिया जस्ता निद्रा जगाउने खानेकुरा पनि खान सकिन्छ । कोठा अँध्यारो बनाउने, घडीमा ध्यान दिने, दुःख र तनावका कुरा लेख्ने गर्दा पनि निद्रा लाग्छ ।

प्रतिक्रिया दिनुहोस