कात्तिक २२ देखि जनकपुरमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, ०८ : ५२
कात्तिक २२ देखि जनकपुरमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन

जनकपुर । धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । 

मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा सम्मेलन आयोजना गरिने जानकारी दिइएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक डा राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन अवधिमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्वमाथि चर्चा, विज्ञको संगोष्ठी, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान, शिक्षालगायत विषयबारे प्रस्तुतीकरण, आयुर्वेदका १४ विधामाथि विमर्श, अन्तर्राष्ट्रिय युवा समिट, व्यापार, वाणिज्य, लगानी र विश्व बजारमा नेपालको उत्पादनको पहुँचजस्ता विषयमा विचार मन्थन हुनेछ । 

पत्रकार सम्मेलनमा जानकी मन्दिरका सह–महन्थ रोशन दासले प्राचीनकालदेखि नै आयुर्वेद चिकित्साका क्षेत्रमा ख्यातिप्राप्त मिथिला क्षेत्र र सिङ्गो नेपालको महिमामाथि प्रकाश पार्नुका साथै नेपालको जडीबुटी, वनसम्पदा, वन्यजन्तु तथा खनिजको उपयोग गरी मानव कल्याणबारे विश्वव्यापीरुपमा चेतना प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए। 

सम्मेलनको प्रमुख आयोजकमा बह्मभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, बह्मभूमि आयुर्विज्ञान अनुसन्धान संस्थान सर्लाही रहेका छन् । 

प्रतिक्रिया दिनुहोस