अब आफै फारम भरेर जग्गा पास गर्न सकिने

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १८ : ५२
अब आफै फारम भरेर जग्गा पास गर्न सकिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विचौलिया निषेध गर्दै सर्वसाधरणले सजिलै फारम भरेर घरजग्गा पास गर्ने संयन्त्र तयार पारेको छ । विगतदेखिनै फारम भरेर जग्गा पास गर्ने व्यवस्था भएपनि झन्झटिलो भएर प्रयोगनै हुन सकेको थिएन । झझन्टिलो भएकै कारण मालपोत कार्यालयमा लेखापढी व्यवसायीलार्इ घरजग्गा पास गर्दा अतिरिक्त पैसा बुझाउनुपर्थ्यो ।

मन्त्रालयले फारमको नमूना परिवर्तन गरेर सामान्य लेख्न जान्ने व्यक्तिले भर्न सकिने बनाउन लागेको हो । मन्त्रालयका अनुसार सामान्य लेखपढ गरेका सर्वसाधारणले पनि आफैले भर्न मिल्नेगरि फारम बनाइनेछ ।

अहिले प्रयोगमा आइरहेको फारममा कुनै फर्म्याट नहुँदा लेखापढी व्यवसायीलाई गुहार्नै पर्ने अवस्था छ । तर अव आउने फारममा भने सबै कुरा बुझ्ने भाषामा राखिएको र छोटो बनाइएको मन्त्री पद्मा अर्यालले बताईन् ।

पूरानो परम्परागत फारममा तमसुक शैलीमा विवरण भर्नुपर्छ । नयाँ फारमको नमूनामा तमसुक शैलीलार्इ हटाइएको छ। घरजग्गाको विवरण उल्लेख भएको हुनेछ ।

पहिलेको फारममा लामो नेपाली कागजमा लेख्नुपर्थ्यो । अहिलेको फारम भने चलन चल्तीमा रहेको प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने 'ए फोर' साइजको हुनेछ । यो फारमलार्इ कम्प्युटरमा भरेर सहजै प्रिन्ट गर्न सकिन्छ ।

नयाँ फारम लागु भएपछि अव लेखापढीकहाँ धाइरहनु पर्दैन। कम्प्युटर हुनेले कम्प्युटरमा फारम भर्न सक्छन् भने नहुनले फारमको नमुना किनेर हातैले पनि भर्न सक्छन् । तर यस भन्दा अघि फारमको नमूना किन्न पाइदैन्थ्यो । कम्प्युटरमा प्रिन्टको व्यवस्थै थिएन ।

अनलाइनमार्फत जग्गा किनबेच गर्न यो फारम अझ प्रभावकारी हुने छ। पहिलेको फारम अनलाइनमा राख्न सम्भव थिएन । अव भने कम्प्युटरबाट भरेको फारम प्रिन्ट गरेर हस्ताक्षर र औंठा छाप गरे पुग्छ । त्यसैलाई स्क्यान गरेर मालपोतमा इमेल गरेपछि अनलाइनमार्फत घरै बसेर पनि जग्गा किनबेच गर्न सकिन्छ ।

घर जग्गाको किनबेच सुरु भएदेखिनै प्रयोगमा आएको फारमको नमुना बल्ल परिवर्तन गर्न लागिएको हो । यस अघि लेखापढी व्यवसायीहरुले व्यक्ति र ठाउँ हेरेर एउटा फारम भरेको पाँच सय देखि १५ हजार रुपैयाँ सम्म लिने गरेका थिए ।  

 

प्रतिक्रिया दिनुहोस