सामुदायिक विद्यालयलाई एनबिआरको सहयोग

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १७ : २४
सामुदायिक विद्यालयलाई एनबिआरको सहयोग

चितवन । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरुको समूह नेपलीज ब्रदर्श रुम (एनबिआर)ले पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको सामुदायिक विद्यालय ब्रम्हा प्राविलाई विशेष सहयोग गरेको छ ।
एनबिआरले बम्हस्थानको ब्रम्हा प्राविलाई ६ थान पंखाकासाथै खेलकुद (फुटबल, भलिबल, क्रिकेट सामग्री, स्किपिङ)  तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरुलाई एकत्रित गर्दै सामाजिक काम गर्ने उद्देश्यले स्थापना भएको संस्थाले आफ्नो तेस्रो वार्षीकोत्सवको अवसर पारेर विद्यालयलाई सहयोग गरेको एनबिआरका चितवन संयोजक मोहन भुषालले बताउनुभयो । पाल्पाका ६ जना युवाहरुको प्रयासमा तीन वर्ष अगाडि खोलिएको एनबिआरमा हाल ५० हजार युवाहरु रहेको उल्लेख गर्दै भुषालले आफूहरुको समूहले उत्पीडित समुदाय, दुर्गमका विद्यालयमा सहयोग गर्नुका साथै रक्तदाताहरुलाई उत्प्रेरणा गर्दै आएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा भैरहवा विमानस्थलका सिभिल ईन्जिनियर तथा संस्थाका शुभेच्छुक पुरुषोत्तम गैरेले युवाहरुले आफ्नो चाहना कटौती गरेर सहयोग गर्दै आएकोले त्यसको सदुपयोग हुनुपर्ने बताउनुभयो । यस पटक आफूहरुले विद्यालयको सानो सम्झना स्वरुप सानो सहयोग गरेको उल्लेख गर्दै गैरेले आगमी दिनमा सहयोगलाई निरन्तरता प्रदान गर्ने बताउनुभयो । पैसा कमाएर सन्तुष्टि प्राप्त गर्न नसकिने उल्लेख गर्दै गैरेले समाजमा पछाडि परेका वर्ग र समुदायको उत्थानका लागि केही गरेर देखाउनुपर्ने बताउनुभयो ।

विशेष सहयोग हस्तान्तरण कार्यक्रममा सो वडाका पूर्व वडा अध्यक्ष लोकनाथ अर्यालले समुदाय स्तरबाट स्थापना गरिएको विद्यालय आगलागीको चपेटामा परेपछि त्यसको दुर्दशा सुरु भएको बताउनुभयो । विभिन्न स्थानबाट सहयोग संकलन गरेर विद्यालयको भवन निर्माण गरिएको भएपनि पर्याप्त भौतिक पूर्वाधारहरुको कमी भएको अर्यालको भनाइ थियो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँ भएकाले समेत गाउँमा गैंडा लगायतका जंगली जनावरले दुख दिने गरेको समुदायका बालबालिकाहरु आर्थिक अभावका कारण विद्यालय जान नसक्ने अवस्थाका रहेको अर्यालले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले आर्थिक अभावका कारण विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समेत निकै चुनाति रहेकोले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । बोटे, माझी, थारु तथा दलित समुदायका विद्यालय अध्ययन गरिरहेको सो सामुदायिक विद्यालयले शिशु कक्षादेखि कक्षा ५ सम्मको अध्ययन गराउँदै आएको छ । तीन जना मात्रै सरकारी सुविधाका शिक्षकहरु रहेको विद्यालयमा अन्य शिक्षकहरुलाई तलब खुवाउन समेत समस्या हुने गरेको केसीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस