राजा वीरेन्द्र जनताप्रति इमानदार थिए : पशुपतिशमशेर
पशुपतिशमशेर जबरा १३ वर्षदेखि राजनीतिमा लागे । त्यसको केही वर्षपछि उपप्रधानपञ्चमा निर्वाचित हुँदै उनले पहिलो राजकीय जिम्मेवारी सम्हाले । ०३६ सालको विद्यार्थी आन्दोलन चर्किँदा शिक्षामन्त्री रहेका जबरा आफ्नो जीवनकालमा ६ पटक मन्त्री भए । पञ्चायतकालदेखि गणतन्त्रसम्म भोगेका उनको राजा वीरेन्द्रसँग राम्रै संगत भयो । उनै जबराले आफ्नो जीवनकालका केही महत्वपूर्ण घटनाक्रम यसरी सम्झिएका छन् :
पहिलो राजकीय जिम्मेवारी
म साढे १२ वर्षको हुँदा मेरो बुबा स्वर्गीय हुनुभयो । त्यही वेलादेखि नै राजनीतिमा लागेर केही गर्छु भनेर अगाडि बढेँ । पहिलोपटक सिन्धुपाल्चोकको पाखड गाविसबाट उपप्रधानपञ्च भएँ । पहिलो राजकीय जिम्मेवारी मेरो त्यही थियो । जिल्ला पञ्चायतको उपाध्यक्ष लडेँ । त्यहाँ पनि जितेँ । जिल्ला पञ्चायत सदस्य भएपछि अञ्चलभरिको जिल्ला पञ्चायतले भोट खसालेर जसले बहुमत पाउँछ ऊ राष्ट्रिय पञ्चायत सदस्य हुन्थ्यो । त्यो बहुमत मैले ल्याएँ ।
शिक्षामन्त्रीको आँखामा ०३६ को आन्दोलन
०३६ सालको विद्यार्थी आन्दोलन जुन किसिमबाट डिल हुनुपथ्र्यो, सरकारको तर्फबाट त्यस्तो भएन । आन्दोलन शिक्षा क्षेत्रमा भएको थियो । शिक्षामन्त्री म थिएँ । त्यसको सम्पूर्ण ह्यान्डलिङ गृहमन्त्री केदारमान व्यथितले गर्नुभएको थियो । उहाँ अलि भावुक हुनुहुन्थ्यो । कमजोरी भयो । ह्यान्डलिङ राम्ररी भएन । आन्दोलन विद्यार्थीले गरेका भए पनि त्यसका पछाडि दलहरू थिए । त्यो आन्दोलनले सुरुदेखि नै राजनीतिक रूप लियो । पहिला कांग्रेसले नेतृत्व गरेको थियो । तर, विस्तारै कांग्रेस नेताहरूको हातबाट आन्दोलन फुत्कियो ।
पञ्चायतविरोधी नारा लाग्न थाल्यो । आन्दोलन बढ्दैबढ्दै गयो । मैले कांग्रेसका नेताहरूसँग कुरा गरिरहेको हुन्थेँ । विभागीयमन्त्रीको हैसियतमा विभिन्न पक्षसँग अनौपचारिक कुरा गरेँ । कांग्रेसका तत्कालीन नेताहरूले १०–१५ दिनबाटै आन्दोलनलाई नियन्त्रणमा राख्न सकेनन् । व्यथितजीले पनि त्यसलाई डिल गर्नै जान्नुभएन । रोक्नै नसक्ने स्थिति बन्यो । आफूले केही पनि गर्न नपाउने अवस्थामा मलाई शिक्षामन्त्री भएर बसिरहन राम्रो लागेन । अनि, राजीनामा दिएँ । यदि मैले ह्यान्डलिङ गर्ने जिम्मेवारी पाएको भए काबुमा ल्याउथेँजस्तो लाग्छ ।
मन्त्री हुँदा राजाको हुकुम
त्यो वेलामा नयाँ शिक्षा नीति लागू भएको थियो । प्रादुर्भाव गर्ने मान्छे म होइन । तर, मन्त्रालय अरूले भन्दा मैले राम्रोसँग चलाइदिएँ । नयाँ शिक्षा नीतिलाई इमान्दारीपूर्वक लागू गराएँ । शिक्षा प्रणालीलाई चुस्त र दक्ष बनाउने प्रयास गरेँ । सिरहाको मिर्चैयामा नयाँ शिक्षा नीतिअन्तर्गत निजी कलेज खोल्न दिएँ । सामूहिक प्रयासमा लगानी गरेर कोही काम गर्न चाहन्छ भने किन नदिने भनेर पहिलोपटक मैले विशेष व्यवस्था गरेर निजी कलेज खोल्न दिएको हुँ । त्योभन्दा अघि निजी कलेज खोल्न पाइँदैनथ्यो ।
गलैँचा काण्डमा दुई तीनजना मन्त्री हटे । हर्कबहादुर गुरुङले चलाएका २ वटा मन्त्रालय (यातायात र पर्यटन) मेरो हातमा आयो । त्यतिवेला म शिक्षामन्त्री भएको ५/६ महिना मात्र भएको थियो । मैले त्यो मन्त्रालयमा के–के छ भनेर हेरेको पनि थिइनँ । राजाबाट मेरो पोखरा सवारी हुँदै छ, त्यो वेलासम्म लुम्बिनी सडक सकिनुपर्छ भनेर हुकुम भयो । राजाले बुझेर मात्र भन्ने चलन हुन्थ्यो । राजाको हुमुक भएपछि हुन्छ भनेर मैले भनिहालेँ । धनुकुटाबाट फर्केर आएपछि हेर्दा त बाटोको काम केही मात्र भएको रहेछ । चार महिनापछि राजाको सवारी थियो ।
त्यो अवधिमा सकिनेजस्तो देखिएन । राजालाई बोलिसकेँ, नगरे पनि भएन । त्यसपछि एउटा विशेष व्यवस्था गरेँ । तीन सिफ्टमा गरेर २४सै घन्टा काम गराउने वातावरण बनाएँ । स्पेसल म्यानेजमेन्ट टेक्निक अपनाएर राजाको सवारीको तीन दिनअगाडि उद्घाटन गराउन सफल भइयो । भैरहवादेखि लुम्बनीसम्मको त्यो बाटो यति छोटो अवधिमा सम्पन्न गरेपछि उहाँले उद्घाटन गर्न पाइबक्स्यो ।
चर्चामा जलस्रोत मन्त्रालय
जलस्रोतमन्त्री हुँदा मेरो ध्यान व्यवस्थापनमै गयो । त्यसवेलासम्म जलस्रोत मन्त्रालयको बारेमा धेरैलाई थाहै थिएन । गृह वा अर्थ लिन चाहने, तर जलस्रोत मन्त्रालय कसैले पनि लिन चाहँदैनथे । नेपालको भविष्य जलस्रोत मन्त्रालयमै थियो । म मन्त्री भएपछि दुई कुरामा जोड दिएँ– मन्त्रालयको सञ्चालनमा दक्षता र इमानदारिता । त्योवेला कुलेखानी–२ आयोजना सञ्चालन थियो । आयोजना समयमा सकाउने भनेर रफ्तारका साथ काम अगाडि बढायौँ । योजनाअनुसार भएको छ कि छैन भनेर वेलावेलामा चेक गर्ने गर्यौँ । बाढी आएर दुई महिना काम रोकिँदा पनि निर्धारित समयमै त्यो प्रोजेक्ट सकियो । समयमै सकिएपछि निर्माण लागत पनि सस्तो भयो ।
कोसीबेस स्टडी गर्यौँ । अरुण–३ को असाध्यै राम्रो सम्भावना देखियो । पछि माधव नेपालको पालामा रोकियो । थप एक वर्ष म बसेको भए अरुण–३ को काम त्यसवेलै सुरु हुन्थ्यो । त्यो क्याबिनेटको अवधि सकियो । चुनावपछि मरिचमान प्रधानमन्त्री बन्नुभयो । मरिचमानलाई जलस्रोत मन्त्रालय पशुपतिकै हातमा छाडिदियो भने मलाई पछि पारिदिन्छ भन्ने लागेछ । मलाई क्याबिनेटमा राखिएन । जतिवेला देशभरमा दोस्रो र पहाडी जिल्लामा धेरै भोट (५२ हजार) ल्याउने म नै थिएँ ।
निर्दलको पक्षमा
म निर्दलको पक्षमा थिएँ । मुलुकका धेरै स्थानमा पुगेर क्याम्पियन गरियो । जहाँ गएर बोल्दा फाइदा हुन्छ, म त्यहीँ गएर भाषण गर्थेँ । दलबाट निर्वाचन लड्न हुँदैनथ्यो । व्यक्ति लड्दा गुन लगाउनुपथ्र्यो । बाटो बनाउनुपर्यो, खानेपानी पुर्याउनुपर्यो, बत्ती पुर्याउनुपर्यो । पहिला चुनावमा खर्च असाध्यै कम पथ्र्यो । तामझाम गरेर हिडिरहनुपर्दैनथ्योे । जनमत निर्दलकै पक्षमा आयो । बालिग मतमा २–३ लाख मात्रै खर्च भयो । त्यतिवेला सिन्धुपाल्चोकमा एक क्षेत्र मात्र थियो ।
राप्रपा राजनीति
हामीले पञ्चायतभरिको एकै पार्टी बनाउने प्रयास गरेका थियौँ । ४८ दिनसम्म एउटै पार्टी खोल्ने प्रयास भयो । व्यक्तित्व टकरावले त्यो प्रयास सफल भएन । सूर्यबहादुर थापा अलग्गै अगाडि बढ्नुभयो, हामीले लोकेन्द्रबहादुर चन्दसँग मिलेर अलग पार्टी खोल्यौँ । म महामन्त्री भएँ । नाम पनि राप्रपा थापा र राप्रपा चन्द भयो । बहुदलपछिको पहिलो चुनावमा हाम्रो पार्टीले ३ र सूर्यबहादुरको पार्टीले १ सिट जित्यो । पछि दुईटा पार्टी मिलेपछि बल धेरै बढ्यो । एकीकृत पार्टीको अध्यक्ष सूर्यबहादुर थापा र महामन्त्री म भएँ ।
पछि म चुनावबाटै राप्रपाको अध्यक्ष भएँ । रवीन्द्रनाथ शर्मा, प्रकाशचन्द्र लोहनी र म अध्यक्षका उम्मेदवार थियौँ । मैले अत्याधिक बहुमतले जितेर १२ वर्ष अध्यक्ष चलाएँ । त्यसपछि सूर्यबहादुर अध्यक्ष हुनुभयो । त्यसपछि फेरि उहाँले मलाई अध्यक्षमा प्रस्ताव गर्नुभयो । राजाको कालमा सूर्यबहादुर फेरि प्रधानमन्त्री हुनुभयो । त्यो वेला उहाँले पार्टी फुटाउनुभयो । प्रधानमन्त्री त राजाले छान्ने भएकाले सोध्ने कुरै भएन । मन्त्री नियुक्त गर्दा उहाँले अध्यक्षसँग छलफलसमेत गर्नुभएन । त्यसपछि हामीले कारबाही गर्यौँ । उहाँले जनशक्ति पार्टी खोल्नुभयो ।
पछि कमल थापाले राप्रपा नेपाल पार्टी खोले । पछि तीनवटै पार्टी एकता भयो । कमल थापालाई अध्यक्ष बनाइयो । तर, जुनजुन सहमति भएको थियो, त्यो अवस्था भएन । त्योभन्दा ठूलो विषय निर्वाचनमा एकताको असर देखिएन । स्थानीय तहका दुई चरणको निर्वाचनमा हामीले सिट बढाउन सकेनौँ । तेस्रो पार्टी हुन्छौँ भनेर लागेको छैठौँ, सातौँ स्थानमा पुगेपछि त्यो एकतालाई जनताले अनुमोदन नगरेको निष्कर्षमा हामी पुग्यौँ ।
वामपन्थी एकता भएपछि राजनीति वामपन्थीतिरै लच्कियो । वाम गठबन्धन धेरै बलियो देखियो । अर्कोतर्फ लोकतान्त्रिक गठबन्धन फराकिलो पनि हुन सकेन । कांग्रेसले एक सिट छाड्न नमान्दा मधेसी दल गठबन्धनमा आएनन् । जबकि केपी ओलीले ठूलो उदारता देखाइदिए । माओवादीलाई ४० प्रतिशत सिट दिनु सानो कुरा थिएन ।
७ पटक निर्वाचित, ६ पटक मन्त्री
मैले ०३० सालमा पहिलोपटक चुनाव जितेँ । पञ्चायत कालमा ४ र बहुदलपछिका ३ वटै चुनावमा जितेँ । संविधानसभा चुनावमा पहिलोपटक पराजित भएँ । जातीयता हाबी भएका कारण त्यसपछि मेरो पक्षमा चुनाव आएन । गृहबाहेक प्रायः मन्त्रालयको जिम्मेवारी सम्हालेँ । पञ्चायत कालमा चारपटक र बहुदल आएपछि शेरबहादुर देउवा र सूर्यबहादुर थापाको पालामा मन्त्री भएँ ।
गणतन्त्रपछिका ३ चुनाव
संविधानसभाको पहिलो निर्वाचनमा माओवादीको आतंक नै थियो । कैयौँ ठाउँमा जानै सकिएन, त्यसकारण मेरो क्याम्पियन जनतासँग पुग्न सकेन । मान्छे तर्से पनि । दोस्रोपटक मुख्य कारण पोलिटिक्स एकदम क्रिमिनलाइज भएर आयो । अहिले भने जातीयकरण भयो । तामाङले तामाङलाई भोट दिनुपर्ने । त्यो प्रवृत्ति र एमालेका संगठनका कारण मेरो पक्षमा चुनाव आएन । यसपालिको निर्वाचनमा अशान्ति थिएन । स्थानीय तहको चुनावमा पनि लेफ्ट नै बलियो देखिएको थियो ।
तर, मैले एउटा सर्वे गर्दा जित्न सकिन्छ भन्ने लागेको थियो । पुरानो ३ नं. क्षेत्रमा मात्रै भएको भए जितिने रहेछ । पुरानो २ नं. क्षेत्रमा हाम्रो संगठन त्यति दह्रो थिएन । मैले त्यहाँ जुन वेभ आउँछ भन्ने एक्सपेक्ट गरेको थिएँ, त्यो वेभले काम गरेन । एक दुई ठाउँमा कांग्रेसका तामाङहरूले पनि शेरबहादुर तामाङलाई भोट हालिदिए । सिन्धुपाल्चोकमा मैले गर्न केही बाँकी नै छैन । तरपनि जनताले पछिल्ला चुनावमा पत्याएनन् ।
गणतन्त्रलाई शिरोधार्य
राजाको चिन्ता विकास गरौँ भन्नेमै हुन्थ्यो । राजाबाट धेरै कोसिस भएकै हो । तर, अपेक्षाकृत विकासचाहिँ भएन । राजा वीरेन्द्रको पालामा मात्रै मैले काम गरेँ । राजा महेन्द्रको पालामा मैले कामै गरिनँ, त्यसकारण त्यतिवेलाको बारेमा इतिहासले बताएकोबाहेक मलाई त्यति धेरै थाहा छैन । राजा वीरेन्द्र नेपाली जनताको उद्दार र देशको विकास होस् भन्नेमा इमानदार हुनुहुन्थ्यो । वीरेन्द्रजस्तो धेरै संगत राजा ज्ञानेन्द्रसँग भएन ।
ज्ञानेन्द्रको कदमको हाम्रो केन्द्रीय कमिटीले भत्र्सना नै गर्यो । त्यो भत्र्सना प्रस्ताव पास गराउन मलाई मुस्किल पर्यो । एक भोटले मात्रै मैले त्यो प्रस्ताव पास गराएको हो । हिन्दू धर्मका बारेमा संविधानसभामा त्यति छलफल नै भएन । राजाबारे त छलफलै भएको हो नि । नेपाली जनताले गरेको निर्णयलाई हामीले शिरोधार्य गरिदिएका हौँ । त्यतिवेला गणतन्त्रमा जाने निर्णय नगरौँ भन्ने पंक्ति पार्टीमा ठूलै थियो ।
-यो लेख आजको नयाँ पत्रिकाबाट लिइएको हो
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ भदौ २०७५, १५ : ०१
लेखकबाट थप