काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।बुधवार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दसैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले पार्टीहरूका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको बताए । दलहरूका बिचमा आपसी गालीगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने बताए । सहमतिको सरकार बनाउन सकेमा मात्रै ठुलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘पार्टीहरूको बिचमा प्रतिस्पर्धाको चुनाव हुन्छ । पूर्ण समानुपातिक भयो भने झन् राम्रो भयो । त्यो चुनावबाट आइसकेपछि आज देशलाई राष्ट्रिय सहमतिको खाँचो छ । राष्ट्रिय सहमति गरेर जानुपर्छ । यदि राष्ट्रिय सहमति गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने ? भन्ने प्रश्न । दुई वर्ष एउटालाई भाग । एक वर्ष एउटालाई भाग । दुई वर्ष अर्कालाई भाग । भाग लाउँदा लाउँदै सरकारको पनि गति नआउने ।
प्रतिपक्ष र सत्तापक्षले एकले अर्कोलाई सत्तोसराप गाली गर्ने । एकले अर्कालाई दमन गर्ने, एकले अर्कालाई गालि गर्ने कुरा भएको छ । यो कुराको अन्त्य गरेर राष्ट्रिय सहमतिका आधारमा मन्त्रिमण्डल बनाउने । राष्ट्रिय सहमतिमा मन्त्रिमण्डल बनाएर सबै पार्टीलाई समेट्ने । सबै पार्टीहरूलाई समेटेर सरकारमा रहेका मन्त्रिहरुको बिचमा प्रतिस्पर्धा । भ्रष्टाचारका विरुद्धमा को अब्बल हुने भन्ने प्रतिस्पर्धा ।
रोजगारी सृष्टि गर्नेमा सबभन्दा अघि को बन्ने भन्ने प्रतिस्पर्धा । उत्पादन वृद्धिमा को अगाडी बढ्ने भन्ने प्रतिस्पर्धा । गुणस्तरीय काम कसले गर्ने, जनतालाई सेवा प्रवाह कसले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गरेर सरकार सञ्चालन गरेर १० वर्षलाई हामी यसरी जानसक्यौँ भने हाम्रो देश समृद्ध हुन्छ । सहमति नगरी हुँदैन । सहमति गरेर मात्रै ठुलो ठुलो परियोजना बनाउन सक्छौँ । त्यसो गरे देशलाई समृद्ध गर्न सक्छौँ र जनताको असन्तुष्टिलाई पनि सम्बोधन गर्न सक्छौँ ।
उपमहासचिव शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए । उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे ।उनले भने, ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ । कसैसँग मिल्दैनौँ । यो प्रतिबद्धता हो । सङ्कल्प हो । यो कुरालाई म स्पष्ट गर्न चाहन्छु ।’
उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारलाई पनि साधन, स्रोत थप गरेर अझै बलियो बनाउनुपर्ने बताए । उपमहासचिव शर्माले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ५ सदस्यीय मात्र मन्त्रिमण्डल बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम: जनार्दन शर्मा
सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
नेतृत्वको वरिपरिबाट मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ : जनार्दन शर्मा
नयाँ पुस्तालाई जिम्मेवारी दिँदा पार्टी अझ सशक्त हुन्छ : जनार्दन शर्मा