जनार्दन शर्मालाई प्रश्न- आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी कसरी गर्दै हुनुहुन्छ ?

सफल खबर संवाददाता

शनिबार, ०९ चैत्र २०८१, १३ : ५३
जनार्दन शर्मालाई प्रश्न- आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी कसरी गर्दै हुनुहुन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले नेतृत्व लिने भन्दापनि पार्टीभित्र विधि र प्रक्रियाको कुरा उठाएको बताएका छन्। ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीभित्र आत्मसमीक्षा गरेर नै अहिले आफूहरू जनता केन्द्रित अभियानमा लागेको बताए।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपमहासचिव शर्माले टक्कर दिँदै आइरहेका छन्। उनले आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिने आन्तरिक गृहकार्य अघि बढाइरहेको बताइन्छ। अखिल क्रान्तिकारीको नेतृत्व छान्ने भएको निर्वाचनमा पनि शर्मा पक्षको पकड भएपछि केही हौसिएका छन्।

अखिलको चुनावपछि हौसिएका शर्मालाई पत्रकारहरूले आगामी महाधिवेशनमा नेतृत्व लिनेगरी भइरहेको तयारी कहाँ पुगेको छ? भन्दै प्रश्न सोधे।

त्यसको जवाफमा शर्माले दिएको जवाफ,
असारबाट पार्टीको महाधिवेशनको प्रक्रिया सुरु गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। त्यो निर्णय अनुसार मंसिरमा हुन्छ। पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने, जनताको मुद्दा अगाडि बढाउने, सङ्गठनलाई विधिबाट अघि बढाउने र युवा पुस्ताको आवाजलाई सुन्न सक्ने क्षमताको पार्टी विकास गर्ने कुरा गर्दा सैद्धान्तिक, नीतिगत, संरचनागत, विधिगत र प्रतिस्पर्धाको रूपमा पनि अब्बल पार्टी बनाउने कुरामै हाम्रो एजेन्डाहरू छन्।
हामीले देशैभर र केन्द्रीय समितिमा पनि लामो छलफल गरेको छौँ। थप छलफल हामीले महाधिवेशनमा गर्नुपर्छ भनेका छौँ। हाम्रो नेतृत्व प्रणाली सामूहिक टीममा हुन्छ, त्यो महाधिवेशनले तय गर्छ। नेतृत्व छान्नको लागि पार्टी सदस्य सार्वभौम हो। उहाँहरूले गर्ने निर्णयबाट पार्टीलाई वैचारिक, नीतिगत, संरचनागत र विधिगत रूपमा अगाडि बढाउनुपर्छ भनेका छौँ। त्यसैले त्यो बेलामा व्यक्ति को को आइपुग्छ अहिले भन्ने सकिँदैन।

प्रतिक्रिया दिनुहोस