जनार्दन शर्मा भन्छन्- पार्टी फुटाउँदै छ भन्नेहरू अराजक हुन्

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, १२ : ४१
जनार्दन शर्मा भन्छन्- पार्टी फुटाउँदै छ भन्नेहरू अराजक हुन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीलाई बलियो बनाउन तित्तरवित्तर भएका शक्तिहरूलाई एकीकृत गर्ने प्रयास भइरहेको बताएका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेकपाका महासचिव विप्लवदेखि नेसपा अध्यक्ष डा बाबुराम भट्टराईसँग समेत एकताको लागि पहल भइरहेको जानकारी दिए ।

तपाईको नेतृत्वमा माओवादी केन्द्र फुट्दै छ भन्ने चर्चा छ नि भन्ने प्रश्नलाई उनले सिधै खण्डन गरे । उनले भने– 'माओवादी पार्टीलाई जनताले चाहेजस्तो बनाउने, छोडिएका एजेन्डालाई पुनः समेट्ने, सीमान्तकृत वर्गलाई समेट्ने जस्ता एजेन्डा मैले पार्टीमा दर्ज गरेको छु । केन्द्रीय कमिटी बैठकले मेरा एजेन्डा पारित गरेको छ । यो सब बुझ्दा बुझ्दै कसैले जनार्दनले पार्टी फुटाउँदै छ भन्छ भने त्यो जस्तो मूर्ख र अराजक अरू हुनै सक्दैन ।

आफू विदेश भ्रमणमा रहेको समयमा १६ जना सांसद्ले अध्यक्ष प्रचण्डविरुद्ध हस्ताक्षर गरेको भन्ने हल्ला फैलाइएको स्मरण गर्दै उनले तत्कालीन समयमा पनि आफूले सो हल्लाको खण्डन गरेको बताए । पार्टी भित्र हुने गरेका गलत क्रियाकलापको विरोध गर्दैमा कोही सशङ्कित हुन आवश्यक नरहेको उनको भनाइ छ ।

अखिल क्रान्तिकारीको निर्वाचनमा गुटको संरक्षण गर्नुभयो नि भन्ने प्रश्नमा नेता शर्माले प्रतिस्पर्धाबाट जित हासिल गरेकाहरुको मनोवल गिराउने गरी नकारात्मक हल्ला मात्र फैल्याइएको जिकिर गरे ।

उनले भने– 'चार पाँच जना प्रतिस्पर्धामा उत्रिएकामध्ये कसैलाई रोज्न त पाइयो नि, मैले कसैलाई राम्रो छ भने हुँला । पार्टीको नीति अनुसार त्यति अधिकार त मलाई पनि छ नि ? त्यसैकै आधारमा कसैले गुटबन्दी भयो भन्छ भने मेरो भन्नु केही छैन ।

पार्टीमा निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्छ भन्ने नेताहरू ९० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । आगामी महाधिवेशनमा प्रतिस्पर्धामार्फत नै पार्टीको नेतृत्व चयन हुने विश्वास उनले व्यक्त गरे ।  आगामी असारबाट महाधिवेशन प्रक्रिया सुरु हुने र मङ्सिरमा महाधिवेशन हुने शर्माको भनाइ छ ।सरकारले ल्याएको अध्यादेश प्रक्रियामा आफ्नो विमति नरहे पनि अध्यादेशको विषयमा भने विमति रहेको उनले प्रस्ट पारे । 

पूर्व राजाले ज्ञानेन्द्र शाहले जनतासँग साथ खोजेको प्रसङ्गमा उनले पूर्वराजालाई पनि बोल्ने अधिकार रहेको बताए । बोल्ने अधिकार सबैलाई संविधानले दिएको भन्दै उनले हिजोका दिनमा जस्तो बोल्नै नपाउने अवस्था अहिले नरहेको जिकिर गरे । बोलेकै आधारमा उनलाई थुन्नुपर्छ भन्नु जायज नभएको शर्माको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस