स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १४ : ४८
स्त्री तथा प्रसुती रोग विशेषज्ञको अन्तराष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु

काभ्रे । धुलिखेल अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको दोश्रो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलन शुरु हुनु अघि आयोजित कंग्रेसमा विभिन्न क्षेत्रबाट सहभागी स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुले पछिल्लो अवस्थाका बारेमा अन्र्तक्रिया गरेका थिए । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मन्त्री बस्नेतले धुलिखेल अस्पतालबाट सरकारले पनि सिक्नु पर्ने धेरै कुरा रहेको जानकारी गराए । ‘विश्वले समुदाय स्तरबाट संचालन भएको स्वास्थ्य क्षेत्रको नमुना हेर्नु पर्दा धुलिखेल अस्पताल आउनु पर्छ’–मन्त्री बस्नेतले भने–‘धुलिखेल अस्पतालमा भईरहेको स्त्री तथा प्रसुती रोगको उपचार तथा ब्यवस्थापन र गुणस्तरीय सेवा नमुनायोग्य छ ।’

मन्त्री बस्नेतले धुलिखेल अस्पतालमा शुरु भएको महिलाहरुको पिसाव चुहिने रोगको उपचार सेवा तथा मातृ शिशु मृत्यु दर घटाउने अभियानमा सरकारले पनि समन्वय गर्न चाहेको बताए । राजमार्गसँग समेत जोडिएको उपत्यकाको नजिक धुलिखेल अस्पतालमा निर्माण हुन लागेको ट्रमा सेन्टरको निर्माणमा सरकारको तर्फबाट समन्वय हुने मन्त्री बस्नेतले बताए । तर पनि नेपालमा मातृ मृत्यु दर घटाउने चुनौती रहेको उनले बताए ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाज जर्मन र नेपालको आयोजनामा भएको दुई दिने अन्र्तराष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजिराव पाण्डव, समाजका जर्मन अध्यक्ष डा. बर्नार्ड उल, धुलिखेल अस्पतालका संस्थापक प्रा. डा. रामकण्ठ माकजु, समाजका नेपाल अध्यक्ष प्रा.डा.आभा श्रेष्ठ, प्रा.डा.सुमनराज ताम्राकार, प्रा.डा.अञ्जना डंगोल लगायतले धुलिखेल अस्पतालले समुदाय स्तरमा पु¥याएको सेवा र गुणस्तरका बारेमा धारणा राखेका थिए ।

सम्मेलन पुर्व आयोजित कंग्रेसमा मंगलबार धुलिखेल अस्पतालमा चार जना महिलाहरुको नयाँ प्रविधिबाट अप्रेसन गरिएको थियो । जसमा ३ जना महिलाहरुको पाठेघर निकालिएको थियो भने एक जना महिलाको डिम्बासयमा जमेको पानी निकालिएको थियो । सम्मेलनको उदेश्य नै नयाँ प्रविधि मार्फत विरामीको उपचारमा सहज बनाउने भन्ने रहेको विशेषज्ञहरुले बताए ।

प्रतिक्रिया दिनुहोस