एमाले सुदूरपश्चिम अधिवेशन: अध्यक्षमा चार जनाको उम्मेदवारी, कसको समर्थन कसलाई ?

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १२ : ५५
एमाले सुदूरपश्चिम अधिवेशन: अध्यक्षमा चार जनाको उम्मेदवारी, कसको समर्थन कसलाई ?

काठमाडौं। एमाले सुदूरपश्चिम अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहमतिको प्रयास असफल भएपछि प्रदेश अध्यक्षमा चार जनाको उम्मेदवारी परेको हो ।उम्मेदवारी दिनेमा कृष्णप्रसाद जैसी, कमल तिमल्सिना, बचनबहादुर सिंह र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका हुन् । 

जैसी पूर्व जिविस सभापति, तिमल्सिना निवर्तमान उपाध्यक्ष हुन् । तिमल्सिना, जैसी र साउद अछामका हुन् । अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सिंह भने कञ्चनपुरका हुन् ।

कसको समर्थन कसलाई ? 

जैसीलाई नेता कर्णबहादुर थापाको साथ छ । उनी पहिलेदेखि नै जैसीलाई सर्वसम्मत बनाउनुपर्ने पक्षमा थिए । पछिल्लो समय पार्टी संस्थापनसँग असन्तुष्ट रहेका थापाको पनि सुदूरपश्चिममा राम्रै प्रभाव रहेको एक नेता बताउँछन् । 

तिमल्सिनालाई शंकर पोखरेल, झपट रावल, गणेश ठगुन्ना र दामोदर भण्डारीसहितको साथ रहेको एमाले स्रोत बताउँछ । प्रदेश अधिवेशनमा नबोलाइएका भीम रावल पनि यसअघि तिमल्सिनाको पक्षमा रहेका थिए । मुख्य प्रतिस्पर्धा जैसी र तिमल्सिनाबीच हुने अवस्थामा रावल कता लाग्छन् भन्न नसकिने सुदूरपश्चिम एमालेका एक नेता बताउँछन्।

‘हुनलाई रावलको समर्थन तिमल्सिनालाई हो कि भन्ने सुनिन्छ । तर पार्टी संस्थापनलको निरन्तरको पेलानपछि उहाँले अन्तिम प्रतिस्पर्धामा के गर्नुहुन्छ । त्यो अझै टुंगो लागिसकेको छैन ।’ रावलले जता साथ दिन्छन् त्यो उम्मेदवार विजयी हुने सम्भावना धेरै रहेको ती नेता बताउँछन् ।

‘रावल देखिने गरी लाग्नुभएको छैन । तर उहाँ सक्रिय नभए पनि जीत हारमा उहाँको मत निर्णायक रहने देखिएको छ ।’ एक नेता भन्छन् ।सुदूरपश्चिम एमाले अधिवेशनमा ६७५ जना प्रतिनिधिले नेतृत्व चयन गर्दैछ । उम्मेदवारीको प्रक्रिया सकिएपछि आजै साँझसम्म निर्वाचन गर्ने तयारी एमाले सुदूरपश्चिमको छ ।

प्रतिक्रिया दिनुहोस