नागरिकता ऐन संशोधनबारे प्रतिनिधिसभामा छलफल हुन्छ : सभामुख महरा

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १७ : १३
नागरिकता ऐन संशोधनबारे प्रतिनिधिसभामा छलफल हुन्छ : सभामुख महरा

काठमाडौँ । राष्ट्रिय जागरण परिषद, नेपालले नागरिकता ऐन–२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुने गरी तत्काल संशोधन गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ । परिषदले सरकारले हालै संघीय संसदमा पेश भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रको सर्वोपरी हित हुने गरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको हो ।

परिषदले नागरिकसम्बन्धी विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न सरकारलाई सचेत गराउन सभामुख महरासँग आग्रह गरेको छ । राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सभामुख महराको ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरुको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने आवश्यता औंल्याउनु भयो ।
यता, सभामुख महराले नागरिकसम्बन्धी ऐन संशोधनका लागि परिषदले दिएको सुझावलाई आफूले गम्भीर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिनुभएको थियो । उहाँले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गराउने बताउनु भयो । परिषदले नेपाली नागरिक महिलाले विदेशी नागरिकसँग विहे गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता विबाह भएको ६ महिनापछि स्वतः खारेज हुने कानुनी व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राख्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस