काठमाडौँमा ट्याक्सी चालकहरुले ड्रेस लगाउनुपर्ने

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १६ : ५०
काठमाडौँमा ट्याक्सी चालकहरुले ड्रेस लगाउनुपर्ने

काठमाडौँ । काठमाडौँमा भाडाका ट्याक्सी चलाउने चालकहरुले आजदेखि ड्रेस लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयले आजदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ । एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारवाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो । उहाँले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यात्रुलाईलाई गलत व्यवहार गरेको पाईएमा ट्याक्सीभित्र राखिएको नम्बरका आधारमा ट्रेस गरि त्यस्ता ड्राईभरलाई कानुनी कारवाहीको दायरामा ल्याईने उहाँले बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्यरुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिनुभयो । उहाँले पुर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारवाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।  सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडाँै उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस