भरतपुर अस्पतालमा सुविधा सम्पन्न एनआर्इसीयू, सुत्केरीको संख्यामा वृद्धि

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १४ : १९
भरतपुर अस्पतालमा सुविधा सम्पन्न एनआर्इसीयू, सुत्केरीको संख्यामा वृद्धि

चितवन । भरतपुर अस्पताल नवजात शिशुको उपचारका लागि उत्कृष्ट बन्दै गएको छ । यो अस्पताल शिशुका लागि कान्ति बाल अस्पताल र प्रसूति अस्पतालपछिको सरकारी स्तरको व्यवस्थित अस्पताल बनेकाे हो ।

नवजात शिशुको जीवनरक्षाका लागि अत्यन्त आवश्यक पर्ने एनआर्इसीयूको राम्रो व्यवस्था भएपछि भरतपुर अस्पतालमा सुत्केरी हुने आमाको संख्यामा पनि निकै वृद्धि भएको छ । यसका साथै जटिलताका कारण अन्य अस्पताल रिफर हुने क्रम पनि रोकिएको अस्पतालले जनाएको छ ।

नवजात शिशुुमा विभिन्न कारणले श्वासप्रश्वासमा समस्या हुने, समय अगावै जन्मिदा तौल कम भई गाह्रो हुने, निमोनिया हुने लगायतका समस्या देखा पर्न सक्छन । त्यस्तो अवस्थामा बच्चालाई एनआर्इसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । साढे २ वर्ष अघि शुरु भएको एनआर्इसीयूमा हालसम्म ११ सय नवजात शिशुकाे उपचार भइसकेकाे छ ।

भरतपुर अस्पतालमा सुत्केरी हुनेको संख्यामा वृद्धि भएसँगै एनआर्इसीयूमा शय्यासमेत थपिएको छ । अाठ वटा बेडले नपुगेर हाल १२ वटा बनाइएको छ । अझै पनि बेड कम भइरहेको बताउँछन्, बालरोग एवं नवजात शिशु तथा अति सघन उपचार कक्ष विशेषज्ञ डा.ओम कृष्ण पाठक । ‘हामीकहाँ लेबल ३ को १२ बेडको एनआर्इसीयू बाहेक १४ बेडको लेबल १ को एनआर्इसीयू पनि बनाइएको छ, जहाँ बच्चामा केही सुधार आएपछि आमासँगै राखिन्छ’, उनले भने ।

नवजात शिशुसम्बन्धी विशेष ‘फेलोसिप’ गरेका बालरोग विशेषज्ञ डा.पाठक ले नवजात शिशुलाई बचाउन एनआर्इसीयू शुरु भएदेखि सजिलो भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस