काठमाडौँ । सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ । आज सोमवार सिंहरदरवारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताएका हुन् ।
उनले बाँदरको विषयमा भने संसदमै सहमति गरेर वा सङ्कल्प प्रस्ताव पास गरेर नगईकन सरकारबाट सिधै मार्ने, पक्रने लगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रूपमा प्रश्न उठ्ने बताए ।
सचिव खरालले संसद् र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई त्यहीअनुसारको योजना बनाएर काम गर्न हुने बताए । मानव–जीवजन्तु द्वन्द्व समाधानका लागि ठाउँ-ठाउँमा ठूला वन्यजन्तु पार्क नबनाउने हो भने समस्या समाधान गर्न कठिन रहेको उनको भनाइ छ ।
उनले भने, ‘बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने सरकारको तयारी छ । बाँदरको विषयमा भने संसदमै सहमति गरेर विज्ञप्ति वा कुनै सङ्कल्प प्रस्ताव पास गरेर जाने भन्ने छ । बाँदरको विषयमा संसद् र समितिले निर्देशन दिए त्यहीअनुसार काम गर्न सहज हुनेछ ।’
सचिव खरालले अहिले सानो खोरमा छ वटासम्म बाघ राख्ने गरेको उल्लेख गर्दै पशु अधिकारको हनन भएको बताए। वन्यजन्तुलाई व्यवस्थित बनाउन मन्त्रालयको बजेट अपर्याप्त रहेको उनले बताए ।
समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गानाले मानव-वन्यजन्तु द्वन्द्वका लागि बनाइएको निर्देशिका क्षतिपूर्ति नभएको उल्लेख गरे । त्यो निर्देशिका राहत मात्रै भएको उनको भनाइ थियो । मानव-वन्यजन्तु द्वन्द्व समाधानका लागि २० देखि २२ करोड चाहिने अनुमान रहे पनि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ मात्रै बजेट दिएको उनले बताए ।
वन तथा भू संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले राष्ट्रिय गौरवका आयोजना वा सबै किसिमका विकासका आयोजनामा वनका कारण समस्या भयो भन्ने कुरा बुझाइको कमी भएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते